• ३ जेठ २०८२, शनिबार

जलजलामा ५० करोड बढीको बजेट सार्वजनिक

blog

नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्न आयोजित गाउँ सभा । तस्विरः ठाकुरप्रसाद

म्याग्दी, असार ६ गते । म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरी गाउँ सभाबाट पारित गरेको छ । 

बुधवार पर्वत बेनी स्थित ज्ञान गौरी रिपोर्टमा सम्पन्न भएको गाउँ सभाको १७ औँ गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष दीपक आचार्यले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँ सभामा पालिका उपाध्यक्ष आचार्यले ५० करोड ४ लाख १३ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो । शिक्षा,स्वास्थ्य,सडक,पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपाध्यक्ष आचार्यले बताउनुभयो । 

बजेटमा सङ्घ-प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण-विशेष अनुदान,सर्बत अनुदान,राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आयलाई समावेश गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । 

बजेटमा सङ्घीय सरकारको ४३ करोड १९ लाख तीन हजार,प्रदेश सरकारको दुई करोड ८२ लाख ७२ हजार,आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने चार करोड दुई लाख ३८ हजार रुपियाँलाई बजेटको स्रोत मानिएको छ । 

प्रस्तावित व्यय तर्फ सङ्घीय,प्रदेश सर्बत अनुदान,सङ्घ,प्रदेश समपूरक अनुदान तर्फ २८ करोड १५ लाख ३ हजार,गापा स्तरीय एवम् वडा पूर्वाधार विकास तर्फको पुँजीगत तर्फ २६ करोड १ लाख र कार्यालय सञ्चालन,कर्मचारी पारिश्रमिक तथा पदाधिकारी सेवा सुविधा समेत चालु खर्च तर्फ ९ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । 

बजेट सार्वजनिक हुनुअघि गाउँपालिका अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको सुशासन सम्बन्धी कार्यविधि,आर्थिक ऐन,वार्षिक प्रतिवेदन तथा आव २०८१÷८२ को बजेट कार्यान्वयन गर्ने कार्यादेशसहितको नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो । 

गाउँपालिका अध्यक्ष आचार्यले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत सबै विधेयक र प्रतिवेदनहरू सभाबाट सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । 

गाउँ सभामा चालु आर्थिक वर्षको जेठ मसान्त सम्म चालु खर्च तर्फ ७२.०४ र पुँजीगत तर्फ ५८.३८ प्रतिशत गरी औसत रूपमा ६८.४२ प्रतिशत प्रगति हासिल भएको जानकारी गराइएको थियो । साथै गाउँपालिकाले स्थानीय मौलिक पहिचान झल्किने लोगो समेत गाउँ सभा मार्फत सार्वजनिक गरेको थियो । 

Author

ठाकुरप्रसाद आचार्य