दिगो विकास र आर्थिक क्रियाकलापबिना देशको अर्थतन्त्र उकास्न सम्भव छैन । देशमा स्थिर सरकार भएन, वर्षैपिच्छे सरकार परिवर्तन भइरह्यो, चुलिँदो व्यापार घाटालाई देशले झेल्न विवश भयो भने देशको आर्थिक क्षेत्र डामाडोल हुन्छ । त्यसको असर देशको आर्थिक क्षेत्रमा देखा परिहाल्छ ।
केही समय पहिले नेपालको आर्थिक अवस्था खस्कँदो थियो । नेपाली अर्थतन्त्रको संरचनामा क्रमशः परिवर्तन आइरहेको छ तर यसले गुणात्मक उपलब्धि भने अझै पनि प्राप्त गर्न सकेको छैन । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ, जसलाई सरकारले बुझेर त्यही अनुसारको योजना अगाडि सार्न सक्नु पर्छ । व्यापारघाटा र आर्थिक मन्दीले देशको अर्थतन्त्र नै चौपट हुनबाट रोक्न सरकारले पहलकदमी लिनु पर्छ । वैदेशिक व्यापारको क्रममा विश्वका करिब ११५ भन्दा बढी मुलुकसित नेपालले वस्तु आयात तथा निर्यात गर्दै आएको छ । यस प्रकारको आँकडा भए पनि झन्डै ६८ देशमा मात्र नेपाली वस्तु निर्यात हुँदै आएका छन् ।
बजारलाई नजिकबाट नियाल्ने हो भने यसको अवस्था दिन प्रतिदिन गिर्दो छ । बजार अनुगमन र मूल्य समायोजन हुन नसक्दा उपभोक्ता पीडित छन् । नयाँ प्रविधि नयाँ तौरतरिकाको अभावले जति लागतमा जति उत्पादन हुनुपर्ने हो, त्योभन्दा कैयौँ गुणा बढी लागत लगाउनु पर्ने भएकाले उत्पादनमा लागत बढ्दै छ । मूल्यको तुलनाले पनि विदेशी उत्पादनसित नेपालमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न मुस्किल पर्छ र निर्यातमा कमी आउँछ । विदेशी बजारको मागलाई पहिचान गरी सोहीबमोजिम उत्पादन गर्न र बजार विस्तार गर्न सकेको देखिँदैन । त्यसै गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि पनि आवश्यक हुन्छ । यसका निम्ति राज्य पक्ष र नेपाली उद्यमी दुवैले जाँगर देखाउनु पर्छ । उत्पादित वस्तु र सेवाको व्यापार दिगो र दीर्घकालीन हुनु पर्छ । तब मात्र निर्यात हुने वस्तुले उचित बजार पाउँछ अनि प्रतिस्पर्धात्मक हुन पनि सघाउँछ ।
नेपालले आफ्नो दिगो विकास र उन्नत आर्थिक समृद्धिका लागि आयातभन्दा निर्यात बढी बनाउनु पर्ने अहिलेको प्रमुख आवश्यकता हो, जसका लागि उद्योग कलकारखानामा लगानी बढाउनु पर्छ । निर्यातको कुरा गर्दा वैदेशिक बजारमा नेपालको तयारी वस्तु र गलैँचा तथा तयारी पोसाकको ठुलो माग रहेको छ । यसका अलावा छालाबाट बनेका सामग्री जस्तै ः जुत्ता, झोला, पन्जा आदि तथा जुट र हस्तकलाका सामग्री, चिया, घिउ, अनि नेपाली कागजले पनि उत्तिकै सम्भावना रहेको अर्थ क्षेत्रका जानकारले बताउँदै आएका छन् । यसर्थ यस्ता वस्तु उत्पादन र निकासीमा नेपालले उत्पादकलाई सही सहुलियतमा ऋण उपलब्ध गराउने, उत्पादन गर्न प्रोत्साहन गर्ने जस्ता काम गर्न सके वैदेशिक व्यापार उँभो लाग्न सक्छ ।
अहिले नेपालबाट निर्यात हुने सामानको गुणस्तरका सम्बन्धमा बेलाबखत प्रश्न उठ्ने गरेको छ । विश्व बजारमा ठुलो प्रतिस्पर्धा छ । यो कसैबाट लुकेको विषय होइन । यस विषयमा व्यवसायी र उद्यमी सबै जानकार छन् । वास्तवमा वस्तुको गुणस्तर महìवपूर्ण कुरा हो । हामीले उत्पादनको परिमाणभन्दा गुणस्तर सुधारमा विचार पु¥याउन सक्नु पर्छ । बरु थोरै उत्पादन होस् तर राम्रो गुणस्तरको होस् भन्ने कुरामा विचार पु¥याइएन भने बजारमा खपत हुन गाह्रो हुन्छ । नेपालले उत्पादन गर्ने वस्तुहरूको प्रायः सबै कच्चा पदार्थ विदेशबाट आयात हुने गर्छ । तसर्थ आगामी दिनमा नेपालले पनि आफ्ना प्राकृतिक स्रोतको उत्खननलगायत उत्पादनका लागि आवश्यक कच्चा पदार्थको उत्पादन गर्न सक्नु पर्छ, जसले वस्तुको उत्पादन लागत घटाउन मद्दत पु¥याउँछ । यद्यपि नेपालले यो क्षेत्रमा दीर्घकालीन उत्पादन योजना मुताविक काम गरेको पाइँदैन । तत्काललाई भन्दा भविष्यलाई विचार गरेर कलकारखाना उद्योगधन्दा खोलिनु पर्छ, जुन वस्तुको उत्पादन हुन्छ त्यसको दिगो वातावरण निर्माण गर्नु पर्छ ।
उत्पादित वस्तु निर्यातमा वृद्धि गर्न गुणस्तरयुक्त सामान उत्पादन हुनु आवश्यक छ । यसका निम्ति दक्ष जनशक्ति, मेसिन तथा औजार र आवश्यक लगानी चाहिन्छ । आवश्यक परे यस्ता विषयमा विदेशबाट सहयोग लिन सक्नु पर्छ । यसका निम्ति सरकारले पनि खर्च बढाउँदै लैजानु पर्छ । यस क्षेत्रमा छुट्याएको रकम समयभित्र नै खर्च गर्नु पर्छ । विगतका सरकारले जुन क्षेत्रका लागि रकम छुट्याएको हो, त्यस क्षेत्रमा खर्च नभएर फ्रिज हुने गरेको परिपाटीलाई अब अन्त्य गर्नु पर्छ । नेपाली वस्तु उत्पादन गरी त्यसलाई निर्यातयोग्य बनाउने काममा राज्यले लगानी गर्नु पर्छ ।
नेपालमा उत्पादन भएका ऊनी गलैँचाको ७५ प्रतिशत जर्मनीमा खपत हुन्छ भने सम्पूर्ण तयारी पोसाकको ८० प्रतिशत खपत अमेरिकाले मात्रै गरिरहेको वर्तमान परिवेशलाई बुझेर बाँकी देशमा पनि व्यापार बढाउन पहलकदमी गर्नु आजको माग हो । केही वर्षअघि मित्रराष्ट्र भारततर्फ कृषिमा आधारित वस्तु निर्यात हुन्थ्यो तर वर्तमान परिस्थितिमा भारतबाट नेपालमा कृषिजन्य वस्तुको आयात बढ्दै गएको छ । बङ्गलादेश, श्रीलङ्का, इटली, बेलायत, फ्रान्स, बेल्जियम, स्विट्जरल्यान्डलगायत मुलुकमा नेपाली सामान निर्यात हुने हुँदा त्यस्ता देशको बजारलाई मध्यनजर गर्दै वस्तुको उत्पादन गरिनु पर्छ ।
देशको आर्थिक विकासमा औद्योगिकीकरणको महत्वपूर्ण योगदान हुन्छ । औद्योगिकीकरणका लागि न्यूनतम पूर्वाधार तथा भौतिक सुविधाको सुनिश्चितता भएको विशेष स्थानलाई औद्योगिक क्षेत्र भनिन्छ । नेपालको औद्योगिक क्षेत्र सुधार हुन नसक्नुका पछि धेरै कारण छन् । सही र दीर्घकालीन सोच भएको नीति बनाउन नसक्नु पनि एउटा कारण हो । भूपरिवेष्टित मुलुकलाई पारवहन समस्या पनि पर्न सक्छ । यसका लागि भएका सम्झौताको उपभोग हामीले गर्न सक्नु पर्छ । विशेष गरी अन्तर्राष्ट्रिय बजार हेरी हामीले गुणस्तरीय वस्तु उत्पादन गर्न सक्नु पर्छ । अनि मात्र हाम्रो व्यापार सन्तुलनमा कायम राख्न सक्छौँ । यसका लागि ऐन, कानुन, नीतिनियम अभाव छन् भने तुरुन्तै ल्याउनु पर्छ ।
औद्योगिक क्षेत्रका लागि पक्की सडकको पहुँच र उद्योगहरूको जडित क्षमतालाई धान्ने गरी छुट्टै प्रसारण लाइनमार्फत अविच्छिन्न विद्युत् आपूर्तिको व्यवस्था गर्नु पर्छ । उद्योग स्थापनाका लागि पर्याप्त जमिन, ढल निकास र चौबिसै घण्टा शुद्ध खानेपानीको व्यवस्था गर्नु पर्छ ।
कुनै पनि उद्योग सञ्चालनका लागि अनिवार्य आवश्यकताको रूपमा रहेको विद्युतीय व्यवस्थादेखि अन्य पूर्वाधारमा ध्यान दिनु पर्छ । केही वर्ष पहिले विद्युतीय अभावमा उद्योगहरू बन्द हुने अवस्थामा थिए तर अहिले त्यो अवस्था छैन । विगत झैँ अहिले लोडसेडिङको अवस्था छैन । उद्योग तथा कलकारखानाका लागि यो खुसीको कुरा हो । उद्यमीहरूलाई विद्युत् सहजै आपूर्ति गर्न सरकारले चाँजो मिलाउनु पर्छ । अहिले सरकारले लोडसेडिङ अन्त्यको अवधारणा अघि सारेको छ । उद्योगीलाई उचित वातावरण लगानीको सुनिश्चितता हुन सके उद्योगी लगानी गर्न इच्छुक हुन्छन् । यस्ता खालका समस्या समाधान गर्नेतर्फ नेपाल सरकारले जागरुकता देखाउन सक्नु पर्छ । राज्य स्तरबाट पहलकदमी नभएसम्म वैदेशिक व्यापारमा विस्तार तथा सुधार हुन सक्दैन । वैदेशिक व्यापारमा सुधार नआएसम्म नेपालको आर्थिक अवस्था माथि उठ्न सक्दैन ।