• १२ असोज २०८१, शनिबार

कास्कीका पालिकाको खर्च निराशाजनक

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार ४ गते । आर्थिक वर्ष २०८०/०८१ मा कास्कीका स्थानीय तहको खर्चको अवस्था निराशाजनक देखिएको छ। आर्थिक वर्षको डेढ महिनामात्र बाँकी रहँदा अधिकांश पालिकाको बजेट आधामात्र खर्च भएको छ। 

कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका अनुसार पोखरा महानगरले तीन अर्ब ८० करोड ७३ लाख ३१ हजार खर्च गरेको छ। त्यसमध्ये चालुतर्फ दुई अर्ब आठ करोड ८६ लाख ३५ हजार र पुँजीगततर्फ एक अर्ब ७१ करोड ८६ लाख ९६ हजार खर्च भएको हो। यो ५३ दशमलव सात नौ प्रतिशत हो। यो वर्ष महानगरको चालु बजेट तीन अर्ब २८ करोड ६४ लाख ७३ हजार र पुँजीगततर्फ तीन अर्ब ८९ करोड ६९ लाख ५० हजार छ।

महानगरका वित्त महाशाखा प्रमुख जयराम पौडेल यसपटक ७० प्रतिशतभन्दा बढी खर्च हुने अवस्था नरहेको बताउनुहुन्छ। “खर्च गर्ने क्षमता हामीसँग छ। राजस्व बाँडफाँट र आन्तरिक आम्दानीसमेत सोचअनुरूप भएन,” उहाँ भन्नुहुन्छ, “त्यसभन्दा बढी काम गरे बजेटले धान्ने अवस्था छैन।” यो वर्ष भएका कामको एक अर्ब हाराहारी दायित्व अर्को बजेटबाट दिनुपर्ने अवस्था आउन उहाँको भनाइ छ।

पोखरा महानगरले चालु आर्थिक वर्षमा आन्तरिक आम्दानी दुई अब २७ करोड हुने अनुमान गरेकोमा आइतबारसम्म करिब ९० करोडमात्र सङ्कलन भएको छ। राजस्व बाँडफाँटबाट पनि अनुमानितभन्दा आधा मात्रै रकम प्राप्त भएको उहाँले सुनाउनुभयो। गत वर्ष महानगरले बजेटको ६६ प्रतिशत खर्च गरेको थियो। 

कास्कीका पाँच स्थानीय तहमध्ये मादी गाउँपालिकाले ५२ प्रतिशत बजेट खर्च गरेको छ। ७२ करोड २७ लाख १३ हजार बजेटमध्ये ३७ करोड ६५ लाख ९१ हजार खर्च भएको छ। मादीले चालुतर्फ ४३ करोड ३ लाख ४२ हजार र पुँजीगततर्फ २९ करोड २३ लाख ७१ हजार बजेट विनियोजन गरेको थियो। 

रुपा गाउँपालिकाले साढे १० महिनामा चालुतर्फ १९ करोड २१ लाख १६ हजार र पुँजीगततर्फ दुई करोड ४७ लाख खर्च गरेको छ। यो कुल बजेट ४८ करोड ५७ लाख ९५ हजारको ४४ दशमलव छ तीन प्रतिशत हो।

कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका कोष नियन्त्रक चन्द्रशेखर सापकोटाले माछापुच्छ्रे गाउँपालिकाले यो अवधिमा ३७ करोड ८९ लाख ७८ हजार खर्च गरेको जानकारी दिनुभयो। माछापुच्छ्रेको खर्च कुल बजेट ६६ करोड ७३ लाख ६० हजारको ५६ दशमलव सात आठ प्रतिशत हो। कास्कीको अन्नपूर्ण गाउँपालिकाको यो वर्ष ६४ करोड ६४ लाख ९० हजार बजेट छ। यसमध्ये चालुतर्फ २८ करोड ८८ लाख ९४ हजार र पुँजीगततर्फ १३ करोड ६५ लाख ५४ हजार बजेट खर्च भएको देखिन्छ। अन्नपूर्णले आइतबारसम्म ६५ दशमलव आठ प्रतिशत बजेट खर्च गरिसकेको छ। 

कास्कीका एक महानगर र चार गाउँपालिका सबैले अनुमानित आन्तरिक आम्दानी सरदर आधा गर्न सफल भएका छन् भने राजस्व बाँडफाँटबाट पनि बजेट बजेट आउँदा योजनाहरू प्रभावित हुने र दायित्व अर्को वर्षलाई रहने अवस्था देखिएको छ।