• १२ असार २०८१, बुधबार

सहरी स्वास्थ्य केन्द्रको भवन प्रयोगविहीन

blog

घोराही उपमहानगरपालिका–१५ उत्साह टोलमा निर्माण भएको सहरी स्वास्थ्य केन्द्रको भवन । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, असार ३ गते । सहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निमार्ण गरिएको सहरी स्वास्थ्य केन्द्रको भवन लागूऔषध प्रयोगकर्ताको अखडा बनेको छ। घोराही उपमहानगरपालिका–१५ उत्साह टोलमा ५२ लाख २० हजार रुपियाँ खर्च गरेर निमार्ण गरिएको ४ कोठे भवन संरक्षण नहुँदा लागूऔषध प्रयोगकर्ताको अखडा बन्न पुगेको हो । 

सहरी स्वास्थ्य केन्द्रको भवनमा औषधी, स्वास्थ्यकर्मीहरू हुनुपर्ने भएपनि लागूऔषध प्रयोगकर्ताको अखडा बन्दा रक्सी र चुरोटका बट्टा लगायतको फोहरैफोहर रहेको छ । तर सम्बन्धित निकाय भने थाहा नपाए झैँ गरेर पन्छिने गरेको छ । सहरी स्वास्थ्य केन्द्रका लागि गत वर्ष वैशाखमा निर्माण भएको भवन प्रयोगमा नआउँदा कार्यालय भने भाडाको भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको भवन लामो समय प्रयोगमा नआउँदा चार कोठे भवनका झ्याल ढोका फोडिएका साथै कोठामा मिनिरल वाटर, रक्सीका बोतल, चुरोटका ठुटासँगै दिशा पिसाब गर्ने गरिएको उत्साह टोल निवासी टोपलाल अधिकारी बताउनुहुन्छ । सहरी स्वास्थ्य केन्द्रको भवन लागूऔषध प्रयोगकर्ताहरूको अखडा बन्दा पटक-पटक सम्बन्धी निकायलाई जानकारी गराउँदा समेत उक्त भवनको संरक्षणमा ध्यान नदिएको उहाँ बताउनुहुन्छ । 

सहरी क्षेत्रमै निर्माण भएको भवन प्रयोगमा आउन नसक्दा लाखौँ रुपियाँ खर्च गरेर निर्माण भएको भवन अलपत्र परेको भन्दै स्थानीय अधिकारीले भन्नुभयो, "निर्माण भएको भवन प्रयोगविहीन बनिरहँदा सहरी स्वास्थ्य केन्द्र भने सोही भवनको नजिकैको घरमा भाडा सञ्चालन हुँदैन आएको छ ।" प्रयोग नगरेपनि कर्मचारीले संरक्षणमा समेत ध्यान नदिएको स्थानीय अधिकारी बताउनुहुन्छ । तर सहरी स्वास्थ्य केन्द्रका प्रमुख हिरण्य शर्माले भने भवन निर्माण सम्पन्न नहुँदै झ्याल,ढोकासँगै जडान गरिएका विद्युतीय उपकरण तोडफोड गरिएकाले सर्न नसकिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, "गत वर्ष निर्माण भएपनि सहरी स्वास्थ्य केन्द्रलाई भवन हस्तान्तरण हुन सकेको थिए । सोही कारण हामी सर्न सकेनौ अहिले हेर्न जाँदा बस्ने जस्तो अवस्था नभएपछि मर्मतको काम गर्ने तयारी भइरहेको छ ।" उहाँका अनुसार भाडाको भवनबाट सेवाग्राहीलाई सेवा दिँदा समस्या हुने बताउनुहुन्छ ।  

गत वर्ष वैशाखमा निर्माण भएको सहरी स्वास्थ्य केन्द्रको भवन प्रयोगमा नआउँदै झ्याल, ढोका लगायतका विद्युत तारमा क्षति भएपछि अहिले पुनः निर्माणसँगै भवनका लागि आवश्यक सामग्री खरिद गर्ने काम भइरहेको घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय बताउनुहुन्छ । उहाँका अनुसार प्रदेश सरकारबाट करिब २० लाख बजेट आएपनि अहिले करिब ८ लाख रुपियाँबाट तोडफोड भएको मर्मतसँगै सहरी स्वास्थ्य केन्द्रका लागि खानेपानीको ट्याङ्की खरिद, पानी निकासका लागि नाला निर्माण लगायतको काम गर्ने तयारी भइरहेको बताउनुभयो । 

सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि २०७९ साल वैशाख ११ गते खत्री निर्माण सेवासँग सम्झौता भएको थियो । सम्झौता अनुसार साढे दुई तले चार कोठे भवन निर्माण कम्पनीले २०८० वैशाख नौ गते काम सम्पन्न गरेको घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउनुहुन्छ ।