• १२ असार २०८१, बुधबार

ट्राफिक कारबाहीबाट करिब १५ लाख राजस्व सङ्कलन

blog

सुजन काफ्ले

चरीकोट, असार ३ गते । दोलखामा विभिन्न ट्राफिक कारबाहीबाट करिब १५ लाख राजस्व सङ्कलन भएको छ । गत वैशाख र जेठ दुई महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोलखाले गरेको ट्राफिक कारबाहीबाट १४ लाख ७८ हजार ५ सय राजस्व रकम सङ्कलन गरेको हो । 

यो राजस्व सङ्कलन गत महिना भन्दा दोब्बर बढि हो । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) ठाकुर प्रशाद भटराईले बताउनुभयो ।

जिल्लामा ट्राफिकको नियम उल्लङ्घन गर्ने बढेकाले राजस्व रकम सङ्कलनमा पनि वृद्धि भएको उहाँको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, मादक पदार्थ सेवन गरी सवारी चिलाउनेलगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा बोलेरो रहेको छन । यस अवधिमा सबैभन्दा कम भने ट्याक्टर कारबाहीमा परेका छन् । यसरी दुई महिनाको अवधिमा कारबाहीमा परेका ७ सय ३८ वटा बोलेरो बाट ५ लाख ८४ हजार, ६ सय ५४ वटा मोटरसाईकलबाट ४ लाख ९५ हजार,२ सय २५ वटा बसबाट १ लाख ९३ हजार ५ सय , २ सय २३ वटा ट्रकबाट १ लाख ९२ हजार र १५ वटा ट्याक्टरबाट १५ हजार गरेर १४ लाख ७८ हजार ५ सय रुपैया राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । 

दुई महिनाको अवधिमा ५ वटा सवारीसाधन दुर्घटना भएको छ । दुर्घटनामा कसैको मृत्यु भने नभएको प्रहरीले जनाएको छ । जिल्लामा ९४ स्थानमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागी विद्यालयमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । ट्राफिक जिल्लाका विभिन्न स्थानका विद्यालय लगायतमा पुगेर सञ्चालन गरिएको सचेतना कार्यक्रममबाट १२ हजार ३ सय ३५ जना लाभान्वित भएको प्रहरी प्रमुख भट्टराईले बताउनुभयो । 

जिल्लामा सडक दुर्घटनाका घटनामा वृद्धि हुन थालेपछि विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । स्कुलस्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उदेश्यका साथ कार्यक्रमलाई अगाडी बढाईएको उहाँको भनाइ छ ।

मुख्यगरि सहरी क्षेत्रका विद्यालयका विद्यार्थिहरुले व्यस्त सडक र राजमार्ग समेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकोले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा गरिएको छ । विद्यार्थीहरुलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको बताउनुभयो । 

प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई सवारीसाधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गनुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपर्ने जस्ता चेतनामुलक विषयको प्रशिक्षण दिईएको र विद्यालयमा सिकेका कुराहरु परिवार र समुदायमा पनि सचेतना गराउन अनुरोध गरिएको प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरी प्रमुख भट्टराई ट्राफिक प्रहरीको जिम्मेवारी वफादारी भई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, नयाँ भवनमा कार्यालय स्थान्तरण, प्रशासनिक जरिवाना र राजस्व सङ्कलनमा उल्लेख्य वृद्वि गरि ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत समेत भएका छन् ।