• १२ असार २०८१, बुधबार

हिल्सा पुग्यो पाँच हजार क्विन्टल खाद्यान्न

blog

केरुङ नाकाबाट तिब्बती मार्ग भएर ढुवानी भइ हिल्सा आइपुगेको खाद्यान्न । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, असार ३ गते । काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट ढुवानी अनुदानको खाद्यान्न हिल्सामा आई पुगेको छ । सो मार्गबाट पैदल ढुवानी भएर यस वर्षको निर्धारित कोटाको खाद्यान्न चिनियाँ टिप्परमा ढुवानी गर्दै हिल्सा आई पुगेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको सो खाद्यान्न  केरुङबाट हिल्साका लागि ढुवानी भएर आई पुगेको खाद्यान्नसँगै आएका लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नवीन आचार्यले बताउनुभयो । 


सो खाद्यान्न रसुवागढीबाट केरुङ नाका हुँदै हिल्साका लागि चिनीयाँ गाडीमा ढुवानी भएर आई पुगेको हो । लिमीटेडले हुम्लाका लागि उक्त नाकाबाट पनि खाद्यान्न ढुवानी गर्दै आएको छ । सो मार्ग भएर यस आर्थिक वर्षमा पाँच हजार क्विन्टल खाद्यान्न कोटा रहेको छ । 

पहिले हिमपातले सडक अबरुद्ध भएको र हाल बाटो पनि खुलेको तथा दुतावासबाट कागजात मिलाउने काम भएपछि खाद्यान्न ढुवानी गरिएको हो । केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनीयाँ मालबाहक गाडीले पाँच दिन लगाएर खाद्यन्न हिल्सामा ल्याएको छ । 

हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य अब हुनेछ । जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा छोडिने र चार हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ । यसका लागि लिमिटेडले थापाथली हुँदै याल्वाङसम्म प्रतिकेजी ४८ रुपियाँ र  सिमकोटसम्म प्रतिकेजी ६२ रुपियाँमा ढुवानी दर तिर्नेछ । 


यो खाद्यान्न शाखाका लागि सिर्जना जेभी र याल्वाङका लागि लामा ट्रेडर्स एण्ड सप्लायर्समार्फत ढुवानी भएको छ । चिनियाँ दशवटा मालवाहक गाडीले प्रतिगाडी पाँचसय क्विन्टल खाद्यान्न हिल्सासम्म ढुवानी गरेका हुन् । यो खाद्यान्न सिमकोट र याल्वाङमा ढुवानी भएर आई पुगेमा खाद्यान्न भण्डारण अझै मजबुत हुने विश्वास गरिएको छ । हिल्सादेखि सिमकोटसम्म आउनु पर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ ।