• ८ मंसिर २०८१, शनिबार

रैथाने बालीमा आत्मनिर्भर बन्दै मनाङ

blog

चामे गाउँपालिका–२ थानचोकमा लहैलह झुलेका करुबारीमा करु टिप्तै मनाङी कृषकहरु । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, असार २ गते । खेतीयोग्य जमिन साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य जमिनबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दै गएको छ । जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । 

तर, हिमाली जिल्ला मनाङ भने यिनै बालीमा नै आत्मनिर्भर छ । कतिपय स्थानमा रैथाने बाली लोप हुने भइसकेको छ । रैथाने बालीको प्रयोग कम गरी विकासे (हाइब्रिड) बाली लगाउने प्रचलन बढ्दो छ । कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल विकासे खेतीपातीलाई प्राथमिकता दिएको पाइन्छ । उत्पादन बढी लिने उद्देश्यका साथ गरिएको खेतीले रैथाने बाली लोप भएका हुन्। 

चामे गाउँपालिका-२ थानचोककी किसान निर्मला गुरुङले मनाङमा आलु, गहुँ, फापर, करु, उवालगायतका रैथाने बाली गर्दै आएको बताउनुभयो । "मनाङमा पुर्खौंदेखि गरिँदै आएको खेती नै हाल पनि गरिरहेका छौँ, यहाँको वातावरणमा यही बालीको उत्पादन राम्रो हुन्छ, यसको संरक्षण हुनुपर्छ, कृषि कर्मलाई प्रवर्द्धन र प्रोत्साहन गर्न आवश्यक रहेको छ,’ गुरुङले भन्नुभयो । 

त्यस्तै, चामे-५ चामेका कृषक सेरव विष्टले गहुँ, फापर, करु, आलु, जौ, उवाजस्ता रैथाने बाली संरक्षण गर्न ज्ञान केन्द्रले प्रोत्साहन गरेको बताउनुभयो । "यी खेतीबाट उत्पादित खाद्यवस्तुको प्रवर्द्धन तथा संरक्षणका लागि तालिम प्रदान गरिएको छ, यसले बाली संरक्षणमा टेवा पुग्नेछ," उहाँले भन्नुभयो ।

पर्यटकीय क्षेत्र भएकाले मनाङमा यहीँको उत्पादनलाई प्राथमिकता दिएर विभिन्न परिकार बनाउन ज्ञान केन्द्रले तालिम प्रदान गर्ने कार्य गरिरहेको छ । यसले विदेशी पर्यटकलाई यहाँका उत्पादनलाई उपयोग गरी खानाको स्वादमा परिवर्तन र आकर्षित गर्नमा भूमिका खेलेको पाइन्छ । मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङ तलेखुका किसान फुलमाया गुरुङले यहाँका रैथाने बालीबाट उत्पादित वस्तुको विभिन्न परिकार बनाउने गरेको बताउनुभयो । मकै, करु, आलु, गहुँ, जौजस्ता खाद्यवस्तु उत्पादन गरिने उहाँको भनाइ थियो ।

यही खाद्यवस्तुको उपयोगबाट होटेल व्यवसायमार्फत आम्दानी लिने गरेको बताउँदै गुरुङले भन्नुभयो, "ज्ञान केन्द्रमार्फत यहाँ उत्पादित खाद्यवस्तुबाट केक, प्यान केक लगायतका खानेकुरा बनाउने सीप सिकेर उपयोग गरिरहेका छौँ, यसले होटेल व्यवसायमा सहयोग पुगेको छ, आम्दानी गर्न पनि सहयोग पुगेको छ ।"

विगतमा रैथाने बालीमा आत्मनिर्भर राष्ट्र नेपालमा रैथाने बाली लोप हुन थालेको छ । तराई तथा पहाडी जिल्लामा यी बाली लोप भए पनि मनाङ अझै यसैमा आत्मनिर्भर रहेको छ । रैथाने बाली लोप हुँदै गएपछि सरकारले बजेटमा रैथाने बालीको संरक्षणलाई प्राथमिकता दिएको छ । सरकारको यो योजनाले मनाङका रैथाने बाली संरक्षणमा अझ बढी लाभ मिल्ने कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले बताउनुभयो । "यहाँको रैथाने बाली उवा, करु, गहुँ, फापरको संरक्षणमा जुटिरहेका छौँ, यसको प्रवर्द्धन र रैथाने बालीको उपभोगमा प्रोत्साहन गर्न लागिरहेका छौँ, खाद्य सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले लागिपरेका छौँ," उहाँले भन्नुभयो । 

रैथाने बालीको उत्पादनलाई बजारीकरणका लागि बजारसम्म पुर्‍याउने प्रवर्द्धनात्मक कार्यक्रममार्फत प्याकेजिङको काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । "यसको बजारीकरणलाई मध्यनजर गर्दै बजारसम्म पुर्‍याउने, घरबाससँग समन्वय गरी रैथाने बालीको उत्पादन बिक्रीमा सहजता कायम गर्ने काममा कृषि ज्ञान केन्द्रले प्रवर्द्धनको भूमिका खेल्नेछ", प्रमुख रेग्मीले भन्नुभयो, "रैथाने बाली लोप हुने अवस्थामा रहेकाले यसलाई जोगाउनुपर्छ भनेर संरक्षणको रणनीति लिएका छौँ ।"

जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९-८० मा भन्दा चालु आर्थिक वर्ष २०८०-८१ मा खेती उत्पादनमा वृद्धि भएको प्रमुख रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गहुँ उत्पादनको क्षेत्रफल नै वृद्धि भएको छ । गत वर्ष १ सय ५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेती २ सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा खेतीयोग्य जमिन वृद्धि भएर १ सय १० हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेती २ सय १८ मेट्रिकटन उत्पादन भएको रेग्मीले बताउनुभयो ।

आर्थिक वर्ष २०७९-८० मा ५५ हेक्टर क्षेत्रफलमा गरिएको जौखेती १ सय २१ मेट्रिकटन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०-८१ मा ५० हेक्टर क्षेत्रफलमा मात्रै जौखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको जौखेती ९८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षमा ६७ हेक्टर क्षेत्रफलमा उवाखेती गरिएको थियो । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट १ सय ४० मेट्रिकटन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा क्षेत्रफल घटेर ६५ हेक्टरमा मात्रै उवाखेती एक सय २८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ३ सय २ हेक्टर क्षेत्रफलमा गरिएको फापरखेती ३ सय २० मेट्रिकटन उत्पादन भएको छ । माथिल्लो मनाङमा फापर छर्ने कार्य भइरहेको छ । तल्लो मनाङमा यति बेला गहुँ, जौ, उवाखेती थन्क्याउने काम भइरहेको छ भने समुद्री सतहबाट ३ हजार ५ सय मिटर उचाइसम्मको माथिल्लो क्षेत्रमा गरिएको खेतीमा बाला लागिरहेको प्रमुख रेग्मीले बताउनुभयो ।