• १२ असार २०८१, बुधबार

म्याग्दीमा राष्ट्रिय परिचयपत्र लिनेको भिड

blog

राष्ट्रिय परिचयपत्रका लागि पालो पर्खंदै सर्वसाधारणहरु ।

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २ गते । सरकारले देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेर सूचना जारी गरेपछि म्याग्दीमा भिड लागेको छ । जिल्लाका स्थानीय तहले आफ्नोमा पनि अनिवार्य रूपमा लागु हुनसक्ने भन्ने आधारमा परिचयपत्र बनाउनु भनेर सूचना गरेसँगै जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि भिड लाग्ने गरेको छ ।

देशका २८ जिल्लामा आउँदो साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेको भएपनि गण्डकी प्रदेशको कास्की र तनहुँमा मात्रै त्यो लागु हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको भनाइ छ । प्रदेशका दुई जिल्लामा मात्रै लागु हुने भनिएको भएपनि जनताले सबै ठाउँमा लागु हुने बुझेकोले गर्दा म्याग्दीमा भिड बढेको उहाँको भनाइ छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको कारणले गर्दा पनि म्याग्दीमा परिचयपत्र लिनेको भिड बढेको प्रजिअ ढकालको भनाइ छ । उहाँले भन्नुभयो, "म्याग्दीमा परिचयपत्र अनिवार्य गरेको छैन त्यसैले अहिले भिड गर्न पर्दैन, तर परिचयपत्र बनाउनु पर्ने चाहिँ भएको हुनाले समय हेरे अनि अनुकूल वातावरण हेरेर बनाउँदा हुन्छ ।"

कम जनशक्तिले पनि जनतालाई सेवा दिई रहेको भएपनि अहिलेको भिड थेग्न भने मुस्किल रहेको जिल्ला प्रशासन म्याग्दीकी राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर विष्णु खत्रीले जानकारी दिनुभयो । जिल्लामा उपलब्ध जनशक्तिले पनि सेवा दिइरहेको उहाँको भनाइ छ । प्रदेशभित्र कास्की र तनहुँमा लागु भएको भए पनि अहिले गाउँगाउँबाट ज्येष्ठ नागरिकहरू परिचयपत्रका लागि आउने गरेको र उहाँहरूलाई सेवा दिने प्रयास हुँदै गर्दा पनि सिस्टम नचल्ने तथा अन्य प्राविधिक कारणले समस्या हुन सक्ने भएपनि यहाँबाट कुनै ढिलाइ भएको छैन, उहाँले भन्नुभयो । अहिले दैनिक ७० जना सम्म नयाँको बायोमेट्रिक गर्ने र १५ देखि २० जना पहिला परिचयपत्रको फारम भरेर परिचय पत्र आइसकेकाहरूको परिचयपत्र जारी गर्ने काम भई रहेको उहाँको भनाइ छ । 

सरकारले घुम्ती शिविरमार्फत वडावडामै गएर परिचयपत्रका लागि पहिला फारम भरेकोमा अहिले सम्म पनि कतिपयको नम्बर सिस्टममा नदेखिँदा समस्या भएको अपरेटर खत्रीको भनाई छ । आफ्नो अनुकूल हेरेर अरू समय पनि आए हुने भएपनि केही जिल्लामा साउन महिना देखि अनिवार्य गरिएको भन्ने सूचनालाई आधार मानेर सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरू ओइरिँदा भिड थेग्नै मुस्किल भएको उहाँको भनाइ छ ।

रघुगंगा गाउँपालिका–७ कि ८१ वर्षीय केटीसरा पुन पनि राष्ट्रिय परिचयपत्र बनाउनका लागि शुक्रबार आउनु भएको थियो । त्यस दिन भिडले गर्दा पालो नआउँदा फर्कनुभएकी उहाँ आइतबार बिहानै जिल्ला प्रशासनमा पुगेको भए पनि २६ नम्बरमा मात्रै आफ्नो पालो परेको सुनाउनु भयो । ज्येष्ठ नागरिकलाई लाइन बस्न नपर्ने भन्ने भए पनि सबै ज्येष्ठ नागरिक भए पछि आफ्नो पालो सबैले पर्खनै पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

आफन्त अनि लट्टीको साहारामा राष्ट्रिय परिचयपत्र बनाउन आउनु भएका मालिका गाउँपालिका–३ रुमका रुद्रवीर घर्तीले पनि आफ्नो पालो आज आउने सुनाउनु भयो । वि.सं. १९८६ मा जन्मनु भएका उहाँलाई पनि आफन्तले नै परिचयपत्र बनाउनका लागि ल्याएर आउनु भएको थियो । राष्ट्रिय परिचयपत्र बनाएर आउन पर्ने वडामा भनेकोले आफूले सहयोगी सँगै आएको रुद्र वीरको भनाइ थियो ।