• १० असार २०८१, सोमबार

‘गर्मीसे बेहाल चलो राराताल’ अभियान सुरु

blog

भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई नेपालगन्जको जमुनाहा नाकामा स्वागत गरिँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २ गते । कर्णाली प्रदेश सरकारले मुगुको राराताल लगायत पश्चिम नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरेर भारतीय पर्यटकलाई आमन्त्रण गर्नका लागि ‘गर्मीसे बेहाल चलो राराताल’ अभियान सञ्चालन गरेको छ । 

कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल फोटो पत्रकार महासंघसँगको समन्वयमा भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई सुर्खेत, दैलेख, कालिकोट हुँदै रारातालसम्म गलेर सो क्षेत्रका पर्यटकीयस्थलहरुको प्रचार प्रसार गरी भारतीय पर्यटक आकर्षित गर्ने कार्यक्रम बनाएको हो । सोही क्रममा राराताल जानका लागि आइतवार विहान नेपालगन्ज पुगेका भारतका नौ जना पत्रकार र पर्यटन व्यवसायीलाई यहाँस्थित जमुनाहा नाकामा स्वागत गरेर सुर्खेततर्फ लगिएको छ । 

राराताल लगायतका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमणका लागि फोटो पत्रकार महासंघको निमन्त्रणामा आउनु भएका भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई नेपाल भारत नाकाको जमुनाहामा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका प्रमुख राम बहादुर बुढा, पर्यटन प्रवद्र्धन मन्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, फोटो पत्रकार महासंघका केन्द्रिय अध्यक्ष हरिप्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, वरिष्ठ सचिव हरिहरसिंह राठौर र कर्णालीका पर्यटन व्यवसायी मनराज सिम्खडा लगायतले स्वागत गर्नुभयो । सो अवसरमा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका प्रमुख बुढाले कर्णालीका पर्यटकीयस्थलहरुको प्रचार प्रसारका लागि भारतीय र नेपाली पत्रकार तथा पर्यटन व्यवसायीलाई राराताल गलेर त्यहाँ अवलोकनका साथै अन्तरक्रिया समेत गरिने बताउनुभयो ।

अत्यधिक गर्मीका कारण जनजविन बेहाल भयरहेको बेला राराताल लगायतको प्रचार प्रसार राम्रो गरि गर्न सकिए धेरै भारतीय पर्यटक आकर्षित गर्न सकिने उहाँले बताउनुभयो।भारतीय पत्रकार टोलीका अगुवा शादाब हुसैनले यो भ्रमणले नेपाल भारतविच पर्यटक आवागमन बृद्धि हुने बताउनुभयो । 

भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई सुर्खेत, दैलेख, कालिकोट र मुगका विभिन्न पर्यटकीयस्थलहरुको अवलोकन गराउने कार्यक्रम रहेको नेपाल फोटो पत्रकार महासंघका वरिष्ठ सचिव हरिहरसिंह राठौरले बताउनुभयो ।