• १० असार २०८१, सोमबार

जुम्लाको तिला गाउँपालिका ६ बालमैत्री वडा घोषणा

blog

जिल्लाको तिला गाउँपालिका वडा नं ६ बालमैत्री वडा घोषणा । तस्बिर : गोरखापत्र

नेत्र शाही 

जुम्ला, असार २ गते । जुम्ला जिल्लाको तिला गाउँपालिका ६ बालमैत्री  वडा घोषणा गरिएको छ । स्थानीय सरकारले एक कार्यक्रमकाबिच सो वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । 

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सुचक पुरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । बालमैत्री वडा निर्माणको लागि वडाले सबै सुचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको छ। उहाँका अनुसार ५१ वटा सुचक अन्तर्गत ८४ प्रतिशत भन्दा बढी सूचक पूरा गरेकोले सो वडा बालमैत्री घोषणा गरिएको हो । 

बालबालिका मैत्री वडा हुन बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्ता लगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान रहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ ।

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले धेरे मिहिनेतका साथ वडालाई बालमैत्री स्थानीय शासनमैत्री घोषणा गरिएको र यस अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उपाध्यक्ष गोरीकला बुढाले जिल्लाकै धेरै दुर्गम वडा नम्बर ६ बालमैत्री स्थानीय शासनका सूचक पूरा गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो । वडाध्यक्ष अध्यक्ष जंग रोकायाले अब कुनै पनि बालबालिका विद्यालय बाहिर हुने नहुने बताउँदै स्थानीय सरकारले गरेको यो कामले बालबालिकाका केही अधिकार पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । 

गाउँपालिकाका अनुसार तिला ६ मा १ सय ९७ घरधुरी रहेको सो वडा पहिलो बालमैत्री वडा घोषणा भएको वडा भएको हो । कार्यक्रमको घोषणा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गर्नुभएको थियो । उहाँले तिला ६ लाई बालमैत्री शासन घोषणा गर्न प्रयास गर्ने स्थानीय सरकार र साझेदार निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले नेपालले बालअधिकार महासन्धीमा हस्ताक्षर गरिसकेपछि बालअधिकारका विषयमा काम गर्न साझेदारी भएको बताउनुभयो । वल्र्डभिजन इन्टरनेश्नल नेपाल र किर्डाक नेपालको साझेदारीमा स्थानीय तहले सो वडा बालमैत्री वडा घोषणा गरेको हो । वर्ल्ड भिजन इनटरनेश्नल नेपालका जिल्ला प्रतिनिधि भेषबहादुर रावलले यस्ता काममा संस्थाको सहयोग भइरहने बताउनुभयो ।