• ९ असार २०८१, आइतबार

रणबाङ–दरबाङ सडक

ठेकेदारको लापर्बाहीले सडक अलपत्र

blog

दरबाङ समाचारदाता  

म्याग्दी (दरबाङ), असार २ गते । सडक कालोपत्रे गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापर्बाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्रेको काम अलपत्र परेको छ । बिरुवा–क्याराभान जेभीले २०७६ साल जेठ ३१ गते जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्रेका लागि ठेक्का लिएको थियो । ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई सास्ती भएको छ । मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म आठ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबिच २२ करोड ५७ लाख ९३२ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत भएको छ । गत चैत, वैशाखयता निर्माण व्यवसायी आयोजना स्थलमा देखिएका छैनन् । 

रणबाङका श्रीराम पौड्यालले सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको बताउनुभयो । सडक निर्माणको काम अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको मालिका गाउँपालिका–६, तोलाबाङकी पूर्णकली विकले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “सडकको धुलो र धुवाँ उडेर घरको भान्सामा पस्छ । बिस्कुन सुकाउन पनि पाइएको छैन । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ ।” रणबाङदेखि ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ । ठेकेदारको जिम्मामा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखिमयुक्त छ । दुखुका एलिस रोकाले भन्नुभयो, “सडक निर्माणको काम अधुरो, अधकल्चो भएर रोकिएको छ । यसले गर्दा हिउँदको समयमा धुलाम्मे र बर्सातको समयमा हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।”

सडक आयोजनाका निर्माण व्यवसायीलाई पटक पटक ताकिता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का लिएको लामो समय बितिसक्यो । पहुँचको आधारमा निर्माण व्यवसायीले म्याद थपेर काम गर्दैनन् ।” फोन नउठाउने बिरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकालीलाई पत्र काटेर ताकिता गरेको कार्यालयले जनाएको छ । निर्माण व्यवसायीले चार किलोमिटरमा सबबेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको यो सडक २०६३ सालमा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने गर्दछन् । उक्त खण्डको कालोपत्रे योजनाका लागि बजेट अभाव नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।