• ९ असार २०८१, आइतबार

एघार महिनामा चवालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

blog

काठमाडौँ, असार २ गते । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा ४४ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३५९ परियोजनामार्फत ४४ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएको हो । विदेशी लगानीमा सञ्चालित उद्योगबाट दुई हजार ३२३ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । 

गत वर्षको जेठ मसान्तसम्ममा ३४ अर्ब ५८ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा झन्डै १० अर्ब रुपियाँ बढीको लगानी आएको विभागको तथ्याङ्कले देखाएको छ । नीतिगत सुधारसँग यो वर्ष वैदेशिक लगानी प्रतिबद्धतासँगै भित्रिने रकममा समेत सुधार हुँदै आएको छ । 

विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योगमा आठ, खानिजजन्यमा तीन र ऊर्जामा एक विदेशी लगानी प्रतिबद्धता आएको छ । ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । 

आर्थिक सर्वेक्षण आव २०८०/८१ को फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये ऊर्जामूलक क्षेत्रमा २७.२३ प्रतिशत, सेवामूलक क्षेत्रमा २७.२४ प्रतिशत, पर्यटन क्षेत्रमा २२.४४ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १५.६० प्रतिशत लगानी रहेको छ । पूर्वाधार उद्योगमा सबैभन्दा कम विदेशी लगानी स्वीकृत भएको छ । २०८० फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका परियोजनामध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी लगानी चीनको ४४.४ प्रतिशत र भारतको २२.२ प्रतिशत रहेको छ । लगानी स्वीकृत सङ्ख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ३८.७ प्रतिशत र भारतको १३.८ प्रतिशत रहेको छ ।

यसैबिच नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।