• ४ असार २०८१, मङ्गलबार

मगर समुदायले मनायो भूम्या (फोटो फिचर)

blog

काठमाडौँको टुँडिखेलमा भुम्या नाचमा सहभागी मगर समुदायका महिला । तस्बिर: केशब गुरुङ

काठमाडौँ, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व शनिबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले मनाउने गर्दछ । नेपाल मगर सङ्घले बुधबार काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरेको हो । मगर समुदायले प्राकृतिक प्रकोप नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन् ।

स्थानीय मगर खाम/पाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ । पश्चिम नेपालको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ, बागलुङ र म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाउँछन् । पछिल्लो समय बसाइसराइको क्रम बढेपछि दाङ, काठमाडौँलगायतका क्षेत्रमा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।


जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाका बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुसीयाली मनाइन्छ ।

भूमे पूजामा मार (भेडा, बोका, कुखुरा, सुँगुर) मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पिर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । 

रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने यो पर्व काठमाडौँमा भने असार ३ गतेसम्म मनाइन्छ ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।