• ४ असार २०८१, मङ्गलबार

पार्टीलाई सङ्गठनको आवश्यक महसुस भयो : उपसभापति वाग्ले

blog

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले

काठमाडौँ, असार १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई सङ्गठनको आवश्यक भएको महसुस गरेको बताउनुभएको छ । शनिबार काठमाडौँमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपसभापति वाग्लेले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरू सचेत रहेको बताउनुभयो । उहाँले पार्टीलाई कार्यकर्ता र सङ्गठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गर्नुभयो । उहाँले सङ्गठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताउनुभयो ।

‘‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ । अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन । यसैले यी दुई एक्स्ट्रिमका बिच हामीले मिडल पार्ट बनाउनु पर्नेछ । सङ्गठन चाहिँदो रहेछ भन्नेकुरा, काठमाडौँमा अलि सजिलो होला । तर अन्य जिल्लाहरूमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ ।,’’ उपसभापति वाग्लेले भन्नुभयो, ‘‘सङ्गठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरू फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा वडामा साथीहरू नै भएनन् । मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरूले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरू चिर्न कार्यकर्ताहरू नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नैपर्छ ।’’

उपसभापति वाग्लेले रास्वपा अभियानको रूपमा अब अघि बढ्ने बताउनुभयो । उहाँले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताउनुभयो ।