• ८ पुस २०८१, सोमबार

सरकारले ढिला नगरी पर्यटनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : एमाले सचेतक बराल

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै नेकपा (एमाले) सचेतक सुनिता बराल ।

काठमाडौँ, जेठ ३२ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सचेतक सुनिता बरालले पर्यटनसम्बन्धी ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गर्नुभएको छ ।

पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो सम्बन्धी ऐनलाई ढिला नगरी समयसापेक्ष बनाउन आवश्यक रहेको उहाँको तर्क थियो । शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सचेतक बरालले पर्यटनसम्बन्धी ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थलाई आत्मासात गरेर सरकारले सो ऐनलाई समय सापेक्ष बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवारी नभएको कुरालाई देखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

‘‘हामी नीति बनाउने ठाउँमा छौ । र हाम्रो मुख्य दायित्व नीति निर्माण गर्ने कानुन बनाउने हो । तथापि पर्यटन क्षेत्र हाम्रो देशको समृद्धिको सङ्कल्प पूरा गर्नका लागि एउटा महत्त्वपूर्ण क्षेत्र हो भन्ने हामी सबैले दोहोर्‍याई रहने तर पर्यटन सम्बन्धि ऐनलाई समयसापेक्ष बनाउन नसक्दा हामीले अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थ पनि हामीलाई थाहा छ । हामीले कहिले सोच्ने र कामयावी बन्ने बनेर सबैले सोच्न जरुरी छ ।,’’ सचेतक बरालले भन्नुभयो, ‘‘म एउटा पर्यटन समितिलाई पनि प्रतिनिधित्व गर्ने भएकाले सरकारलाई फेरि पनि आग्रह गर्न चाहन्छु पर्यटन ऐन ढिला नगरी ल्याएर यो देशको समृद्धिका सम्भावनाहरुलाई थप परिस्थिकृत पार्नका लागि विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’’

सचेतक बरालले पर्यटनमार्फत मुलुकको समृद्धको सम्भावना अधिक रहेपनि त्यस क्षेत्रको काममा दक्षता अभिवृद्धिका लागि स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कामलाई सरकारले प्रभावकारी बनाउन नसकेको गुनासो पनि गर्नुभयो ।

‘‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, जुन पर्यटन क्षेत्रमा तालिम प्राप्त दक्ष उत्पादन गर्नका लागि एउटा स्थापित संस्था थियो । आज त्यो विस्तार हुनुपर्ने, अझ फराकिलो हुनुपर्ने ठाउँमा त्यसले के गरिरहेको छ भन्ने थाहा खबर नहुने अवस्थामा छ ।,’’ उहाँले भन्नुभयो, ‘‘आज हामीले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिका लागि प्राथमिकतामा राख्छौ भनेर नीतिगत रुपमा हाम्रा भाषणमा भनिराख्दा खेरी यस्ता खालको संस्थाहरुलाई ओझेलमापर्दा हामी गन्तव्यमा कसरी पुग्छौ ? यो पनि सोच्नुपर्ने हुन्छ । सरकारको नीति, कार्यक्रम बजेटमा पोखरा र भैरहवा विमानस्थललाई कहीँ पनि उल्लेख नहुनुले हामी पर्यटन क्षेत्रप्रति कति संवेदनशील र सचेत छौं ? प्रष्ट देखाएको छ ।’’

सचेतक बरालले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिका लागि प्राथमिकतामा राख्छौँ भनेर नीतिगत रुपमा भनेपनि सो अनुसारको काम गर्न नसकेको गुनासो गर्नुभयो ।