• ४ असार २०८१, मङ्गलबार

हुथी समूहद्वारा ढुवानी जहाजमा बारम्बार मिसाइल आक्रमण

blog

दुबई, जेठ ३२ गते । यमनका हुथी विद्रोहीहरूले बिहीबार एडनको खाडीमा बल्क कार्गो क्यारियरमा दुई क्रुज मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।

“एम/भि भर्बेना–पलाउआन–झण्डा भएको, युक्रेनी स्वामित्वमा रहेको, पोल्यान्डद्वारा सञ्चालित जहाजमा क्षति र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको छ । आक्रमणको क्रममा एक जना जहाज सञ्चालक गम्भीर घाइते हुनुभएको छ’’, युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक विज्ञप्तिमा जानकारी गरायो ।

हुथीहरूले गाजापट्टीमा चलिरहेको इजरायल–हमास युद्धको क्रममा प्यालेस्टिनीहरूसँग एकतामा रहेको बताउदै नोभेम्बर २०२३ देखि लालसागर र एडनको खाडीमा पानीजहाजहरूलाई लक्षित आक्रमण गर्दै आएका छन् । यसले अन्तर्राष्ट्रिय ढुवानीमा ठुलो अवरोध ल्याएको छ ।

हुथि समूहले बिहीबार गाज पट्टीमा जनताविरुद्ध गरिएको अपराधको प्रतिशोधमा र आफ्नो देशविरुद्धको अमेरिकी–ब्रिटिश आक्रमणको प्रतिक्रियामा विगत २४ घण्टाभित्र भर्बेनासहित तीनवटा जहाजमा आक्रमण गरेको बताएका छन् ।

यसैबिच संयुक्त राज्य मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले यमनको विद्रोहीको कब्जामा रहेको होडेडा बन्दरगाहबाट करिब ८० नटिकल माइल उत्तरपश्चिम लालसागरमा व्यापारिक जहाज नजिकै विस्फोट भएको बताएको छ ।

सेन्टकमका अनुसार पछिल्लो २४ घण्टामा हुथीहरूसँग सम्बन्धित एक एयर डिफेन्स सेन्सर, दुई गस्ती डुङ्गाहरू र समुद्री र हवाई ड्रोनहरू नष्ट गरेको बताइएको छ ।

सन् २०१४ मा सानाबाट सरकारलाई अपदस्थ गरेपछि हुथीहरूले नोभेम्बरदेखि लाल सागर र एडनको खाडीमा ढुवानी जहाजहरूमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेका हुन् ।

हुथीहरूले बुधबार होडेडाको दक्षिणपश्चिममा लाइबेरियाको झण्डा भएको बल्क ढुवानी जहाजलाई प्रहार गरेका थिए । उनीहरूले हमलामा समुद्री र हवाई ड्रोनका साथै ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गरेका छन् ।

“गाजामा प्यालेस्टिनीहरूको पक्षमा रहेको दाबी गर्दै द्वन्द्वसँग कुनै सम्बन्ध नभएका तेस्रो देशका नागरिकहरूको जीवनलाई लक्षित आक्रमण र धम्की दिइरहेका छन्“ सेन्टकमले बिहीबार हुथीहरूलाई आरोप लगायो । रासस/एएफपी