• १३ साउन २०८१, आइतबार

यस पटकको मनसुन कसरी फरक ?

गतवर्षको भन्दा यो वर्ष वर्षा बढी हुने

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ ३१ गते। यसवर्ष गतवर्षको तुलनामा बढी वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलका अनुसार यसवर्ष औसतभन्दा बढी पानी पर्नेछ। यसवर्षको तापक्रम पनि गत वर्षको भन्दा तुलनात्मक रूपमा बढी हुने सम्भावना रहेको उहाँले बताउनुभयो।

 उहाँका अनुसार यसवर्ष सबै प्रदेशमा तुलनात्मक रूपमा बढी पानी पर्ने सम्भावना रहेको छ।

उहाँले भन्नुभयो, “यसवर्ष गत वर्षको तुलनामा सबै प्रदेशमा तुलनात्मक रूपमा बढी वर्षा हुने देखिन्छ। तापक्रम पनि गतवर्षको भन्दा बढी नै हुने सम्भावना रहेको छ।”

उहाँका अनुसार यस वर्षको मनसुन गतवर्षको तुलनामा केही पृथक् रहेको छ। यसवर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेपनि केही समय खडेरी पर्ने र एकैचोटी ठुलो वर्षा हुने सम्भावना रहने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो,“यसवर्ष गतवर्षको तुलनामा केही बढी वर्षा हुने भएपनि एकनासको वर्षा हुने सम्भावना भने देखिँदैन। केही समय खडेरी पर्ने त्यसपछि एक्कासि ठुलो पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ।” 

मनसुनको समयमा औसतमा १५०० मिलिमिटर वर्षा हुने गरेको छ। यसवर्ष सो भन्दा बढी वर्षा हुने उहाँले बताउनुभयो। 

उहाँका अनुसार यसवर्ष बाढी पहिरोका घटना बढी हुनसक्ने भएकाले सतर्क रहनुपर्ने उहाँको भनाइ छ। जलवायु परिवर्तनका कारण पछिल्लो समय वर्षाको तरिका पनि फेरबदल भएको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो,“पछिल्लो समय भइरहेको जलवायु परिवर्तनको कारण वर्षाको मात्रा पनि परिवर्तन भएको छ, केही समय खडेरी परेपनि एकैचोटी ठुलो (आरिघोप्टे) पानी पर्ने सम्भावना रहेको छ।”

मनसुन पश्चिम पुग्न एक हप्ता लाग्ने

पूर्वमा तीन दिन अघि भित्रिएको मनसुन  सुदूरपश्चिम पुग्न अझै एक हप्ता लाग्नेछ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन पश्चिम नेपाल पुग्न अझै एक हप्ता लाग्ने भएको छ। 

उहाँले भन्नुभयो, ‘‘पूर्वी नेपालमा भित्रिएको मनसुन पश्चिममा पुग्न अझै एक हप्ता लाग्ने देखिएको छ। मनसुनको गति सुस्त भएकाले एक हप्ता लाग्न सक्ने आङ्कलन गरिएको छ।”

उहाँका अनुसार अहिले मनसुन कोशी प्रदेशमा मात्र सक्रिय छ। अहिले मधेश प्रदेश र बागमती प्रदेशमा मनसुनजन्य वातावरण निर्माण भइरहेको मौसमविद् लामिछानेको भनाइ छ। 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि पूर्णतया बदली छ। अन्य प्रदेशको मौसम भने पूर्णतयार सफा नै रहेको उहाँको भनाइ छ। 

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना समेत रहेको उहाँको भनाइ छ। बाँकी स्थानमा भने आगामी तीन दिन वर्षाको सम्भावना नरहेको उहाँको भनाइ छ।