• १२ साउन २०८१, शनिबार

गाजा युद्धसम्बन्धी राष्ट्रसङ्घीय अनुसन्धान पक्षपातपूर्ण रहेको इजरायलको दाबी

blog

जेरुसेलम, जेठ ३१ गते । गाजामा हमासविरुद्धको युद्धमा मानवता विरोधी अपराध गरेको भेटिएको भन्ने संयुक्त राष्ट्र सङ्घको अनुसन्धानलाई इजरायलले पक्षपातपूर्ण भन्दै आरोपको खण्डन गरेको छ ।

गाजा युद्धमा राष्ट्रसङ्घका विज्ञले गरेको पहिलो गहन अनुसन्धान प्रतिवेदनले इजरायली र प्यालेस्टिनी सशस्त्र समूहले युद्ध अपराध गरेको पनि पत्ता लगाएको छ ।

इजरायल र प्यालेस्टिनी क्षेत्रमा भएको अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्ले सन् २०२१ मेमा अनुसन्धान आयोगको स्थापना गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घको स्वतन्त्र अनुसन्धान आयोगले बुधबार जारी गरेको प्रतिवेदनमा इजरायलले ‘युद्ध अपराध, मानवता विरुद्धको अपराध’ र अन्य अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको जानकारी गराइएको छ ।

प्रतिवेदनमा ‘गाजाका आम–नागरिकविरुद्ध इजरायलले व्यापक र निर्देशित आक्रमण गरेको उल्लेख गरिएको छ ।

इजरायली विदेश मन्त्रालयले आयोगको अनुसन्धान प्रतिवेदन पक्षपातपूर्ण र स्पष्ट इजरायल विरोधी एजेन्डाबाट प्रेरित रहेको दाबी गर्नुका साथै इजरायली सेना (आईडीएफ) विरुद्धको झूटा आरोप र मानहानियुक्त भएको मन्त्रालयले बताएको छ ।

आयोगले गत अक्टोबर ७ को आक्रमणमा हमास र अन्य सशस्त्र समूहका सदस्यहरूले पनि हत्या, हताहत, दुर्व्यवहार, बन्धक र यौनिक तथा लैङ्गिक हिंसाजस्ता अपराध गरेको पुष्टि गरेको छ ।

“हमास र प्यालेस्टिनी सशस्त्र समूहहरूले तुरुन्तै हवाई आक्रमण बन्द गर्नुपर्छ र सबै बन्धकलाई रिहा गर्नुपर्छ,” संयुक्त राष्ट्रसङ्घकाका पूर्व अधिकार प्रमुख र अन्तर्राष्ट्रिय फौजदारी अदालतका पूर्व न्यायाधीश नाभि पिल्लेले भन्नुभयो ।

हमासले संयुक्त राष्ट्रसङ्घको उक्त प्रतिवेदनमा हालसम्म कुनै टिप्पणी गरेको छैन । रासस/एएफपी