• १२ साउन २०८१, शनिबार

गर्मी अत्यधिक बढेपछि विद्यालय दुई दिन बन्द

blog

मीना कंडेल 

कावासोती, जेठ ३१ गते । अत्यधिक गर्मी बढेपछि नवलपुरका विद्यालयहरूमा थप दुई दिन बिदा दिइएको छ । मौसममा कुनै सुधार नआएपछि जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाले थप दुई दिन विद्यालयमा बिदा दिएका छन् । 

देवचुली नगरपालिकाले भने सुरुमा नै जेठ ३२ सम्म बिदा गरेको थियो । कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले गर्मीको कारण पठनपाठन गर्न असहज भएपछि थप दुई दिन बिदा बढाएर शुक्रबारसम्म विद्यालय बिदा गरिएको बताउनुभयो । बिदा लगत्तै असार १ गते शनिबार सार्वजनिक बिदा समेत परेकाले विद्यालय अब असार २ गते आइतबारदेखि सञ्चालन हुने उहाँले बताउनुभयो ।

जिल्लामा दिउँसोको तापक्रम ३९ देखि ४१ डिग्री तापक्रमसम्म पुगेपछि बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै थप दुई दिन लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । अहिलेको बिदालाई असारमा मिलान गर्नेगरि निर्णय भएको छ । यसअघि जेठ  २८ देखि ३० गते सम्मका लागि तीन दिन विद्यालय बन्द गरिएको थियो ।