• ९ मंसिर २०८१, आइतबार

प्रदेशका सडक निर्माण सुस्त

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, जेठ ३१ गते । सङ्घीयता कार्यान्वयनसँगै पहिलो पटक कोशी प्रदेश सरकार गठन भएपछि आर्थिक वर्ष २०७५/७६ मा ठेक्का लागेका सडक अझै निर्माण भइसकेका छैनन् । 

तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते मोरङको पथरीबाट जाँते हुँदै ज्यामिरे जोड्ने १९ किमी लम्बाइको सडक शिलान्यास गर्नुभयो । शिलान्यासको दिन मुख्यमन्त्री राईले तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना भए पनि दुई वर्षमा नै सकेर आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो तर चार वर्ष छ महिना बितिसक्दा पनि १९ किलोेमिटर लम्बाइको सडक निर्माण सम्पन्न भएको छैन । लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्वपश्चिम राजमार्गलाई ‘व्रmस’ गरेर डाइनिया हुँदै भारतसँग जोड्ने यो सडक उत्तरी मोरङको व्यापार प्रवर्धनका लागि महìवाकाङ्क्षी गौरवको आयोजना थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी आयुष जोशीका अनुसार यो सडक २०७८ असोज ११ गते सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने थियो तर सडकका रुख नहटाएको, निर्माण क्षेत्रको दायाँबायाँ खाली नगरिदिएका कारण पूर्वनिर्धारित समयमा सडक बन्न सकेन ।

सडक कालोपत्रे गर्ने जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा विनिता श्री निर्माण कम्पनीलाई दियो । विनिता श्रीले काम तीव्र रूपमा गरिरहेको थियो तर जङ्गलको दायाँबायाँका रुख र सडकको बिचमा पर्ने रुख हटाउन लामो समय कुर्नु परेपछि हालसम्म ११ किलोमिटर काम मात्र सम्पन्न भएको छ । सडक ५४ करोड ४८ लाख ४५ हजार १२५ रुपियाँ ९६ पैसामा ठेक्का लागेको हो । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले हालसम्म २५ करोड २१ लाख ७१ हजार रुपियाँ निर्माण कम्पनीलाई दिइसकेको छ । पुनः म्याद थप गरी २०८० असार २८ गते सडक कालोपत्रे गरिसक्नुपर्ने सम्झौता थियो तर उक्त मिति गुज्रिसक्दा पनि निर्माण कम्पनीले आठ किमी सडक निर्माण प्रव्रिmया अझै थालेको छैन । लेटाङ–८ का वडाध्यक्ष भीमप्रसाद पोख्रेलले भन्नुभयो, “सडकमा पर्ने २११ वटा रुखमध्ये सडकको बिचमा ठडिएका तीन वटा रुख मात्र काटिएको छ । अरू २०८ रुख काटिएको छैन । साइट खाली नगरेसम्म ठेकेदारले काम अगाडि बढाउँदैनन् ।” 

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी आयुष जोशीले भन्नुभयो, “योजना सम्पन्न भएपछि २९ करोड २६ लाख ७३ हजार रुपियाँ भुक्तानी दिनुपर्ने हुन्छ ।” उहाँले हालसम्म ४२.२८ प्रतिशत मात्रै काम सम्पन्न भएको बताउनुभयो ।  

प्रदेश सरकारले आव २०७५/७६ मा कोशी प्रदेशभर ७२ वटा सडकलाई बहुवर्षीय योजना अन्तर्गत समावेश गरेको थियो । सोही आयोजना अन्तर्गत पथरी–जाँते–ज्यामिरे सडकखण्ड पनि समावेश भएको हो । जस अन्तर्गत मोरङमा मात्र १४ वटा सडक छन् । मोरङको २२ किमी लम्बाइको विराटचोक–घिनाघाट–विराटनगर सडक निर्माण सम्पन्न भएको देखिए पनि १० किमी सडक मात्र हस्तान्तरण भएको छ । सूचना अधिकृत जोशीले तीन वटा निर्माण कम्पनीले काम गरेकामा दुई वटाले काम सम्पन्न गरिनसकेको बताउनुभयो । 

त्यस्तै किसानचोक–आइतबारे–रवि सडक ९७.५० प्रतिशत प्रगति भएको छ । उक्त आयोजनालाई मन्त्रालयले एक करोड ६७ लाख ९८ हजार रुपियाँ दिनुपर्ने छ । यसै गरी सोही सडकको किसानचोक–मिक्लु खोला खण्डमा २१.६६ प्रतिशत मात्र काम भएको छ । आयोजनाका लागि सरकारी दायित्व २१ करोड ७५ लाख १८ हजार रुपियाँ रहेको छ । यस्तै मोरङका दाम्राभिट्टा–उल्लुघुटु सडक, गिरिजाप्रसाद कोइराला सडक, बबियाबिर्ता रञ्जनी हुँदै काजिमानचोक–फार्साडाँगी–गान्धीआश्रम सडक, मोतीपुर शुव्रmबारे–गिदनिया सडक, दर्बेसादेखि धनपाल पुटानी चोक जोड्ने सडक, राम लक्ष्मणमार्ग, विराटनगर–जोगबनी बोर्डर सडक, भाउन्ने आमतोला सडक, लेटाङ–६ नं. बुधबारे सडक, बुढीगङ्गा गाउँपालिका हुँदै पुष्पलाल चोक जोड्ने सडक र कटहरी गापा–५, रिङरोडपश्चिमबाट खोरिया महेशपुर हुँदै कृषि बजार जोड्ने सडक निर्माणको सूचीमा छन् । बजेट सुनिश्चित नभई टेन्डर लागेका सडकको काम कछुवाको गतिमा भइरहेको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुनसरीमा १०, झापामा १२, इलाम र भोजपुरमा छ/छ, पाँचथरमा चार, तेह्रथुम र सङ्खुवासभामा दुई÷दुई, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, ताप्लेजुङमा र उदयपुरमा तीन÷तीन वटा तथा खोटाङमा एउटा सडकलाई बहुवर्षीय सडक आयोजनामा राखिएको थियो ।