• १२ साउन २०८१, शनिबार

भुइँ स्याउको उत्पादनसँगै उद्यममा जोडिँदै महिला

blog

भुइँ स्याउ बगान र भुईँ स्याउ याकुन सिरप बनाउन कञ्चनजङ्घा टी स्टेटमा प्रशोधन गरिँदै । तस्बिर: गोरखापत्र ।

राधा लुइटेल 

फिदिम,जेठ ३० गते । फिदिम ३ का देउमान श्रेष्ठलाई श्रीमती हिमाकुमारी सोही वडामा गठन भएको सुनौलो नाम्दु अर्ग्यानिक भुइँ स्याउ उत्पादन महिला समूहको सदस्य बन्दा खुसी लागेको थिएन ।सुरु सुरुमा समूहमा हिँड्दा घर व्यवहार बिग्रन्छ, बस्तुभाउ भोकाउँछन्,समयमा खान सुत्न पाइन्न समूहमा नजाऊ भन्दै अनेक समस्या देखाएर रोक्न खोज्नुभयो । एक छिन हिँड्दैमा के नै पो बितिहाल्ला र ? भन्दै हिमाकुमारी समूह समूहको बैठकमा पुग्नुभयो । 

प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय मातहत रहेको नव प्रवर्तन परियोजनाले २०८० वैशाखमा भुइँ स्याउ किसान समूह गठन गर्दै त्यसको खेती प्रविधि र बजार पहिचानसम्बन्धी तालिमसँगै  ६ किलोका दरले भुइँ स्याउको बिउ दिएर पठायो । त्यो तालिमपश्चात् आफूले व्यावसायिक खेती गर्ने मेलो मेसो बुझेको हिमाकुमारी बताउनुहुन्छ । 

तालिममा जाँदा पाएको बीउ सो बिउ घर नजिकै कोठेबनरीमा रोप्या झुप्पा झुप्पा फल्यो,  ६ किलो बिउबाट ४ क्विन्टल उत्पादन भएछ, पहिलो वर्षको उत्पादन फिदिमकै कञ्चजनजङ्घा टी स्टेटले प्रतिकिलो २२ रुपियाँका दरले किनिदियो, यति बेच्दा ८ हजार ८ सय रुपियाँ आम्दानी भएपछि बुढी ठिकै ठाउँमा गएकी रहिछ भनेर श्रीमानले पनि चित्त बुझाउनुभयो ।’ हिमाकुमारीले भन्नुभयो ।

श्रेष्ठ दम्पतीले भुइँ स्याउ उत्पादनमा उद्यममा जोड्ने उद्देश्यले यो वर्ष ५० किलो बिउ रोपेका छन् । पहिले बिक्दैन कि ? भन्ने लाग्थ्यो, समूहमा आबद्ध भएर भुइँ स्याउ रोप्न थालेको पहिलो वर्ष घरैमा आएर गाडीले उठाइ दिएपछि ढुक्क भयो,श्रीमतीले ठिकै गरेकी रहिछन ।’ देउमानले थप्नुभयो ।

हिमाकुमारीकी छिमेकी शोभा राई साथीहरूको लहै लहैमा लागेर भुइँ स्याउ उत्पादन समूहको सदस्य बन्नुभयो । उहाँले पनि गत वर्ष वैशाख महिनामा नव प्रवर्तन साझेदारी परियोजना मार्फत भुइँ स्याउ उत्पादनसम्बन्धी तालिममा सहभागी भएर फर्कँदा पाएको ६ किलो बिउ बारीमा लगेर रोप्नुभयो ।

 छ केजी रोप्दा झन्डै ४ क्विन्टल फलेछ,कञ्चनजङ्घा टी स्टेटबाट आएको गाडीले प्रतिकिलो २२ रुपियाँका दरले घरबाटै उठाइदियो,पहिले छिमेकीहरूले भुइँ स्याउ रोप्थे,चाखेकी थिएँ, बिक्री हुन्छ भन्ने थाहा थिएन,अर्को वर्षदेखि जमेर खेती गर्ने हो ।’ –शोभा भन्नुहुन्छ ।

फिदिम नगरपालिका ३ कै रोजी राईले केही वर्ष अगाडीदेखि फाट्टफुट्ट भुइँ स्याउ खेती गर्दै आउनु भएको रहेछ  ।  खेती प्रविधि र बजारका विषयमा जानकारी नपाउँदा उत्पादन भएको धेरै जसो भुइँ स्याउ खेर जान्थ्यो । थोरै परिणाममा खाने र धेरै जसो सुँगुर र गाई भैँसीलाई चारोका रूपमा उसिनेर दिने गरेकोमा यो वर्ष सबै उत्पादन बिक्री हुँदा दङ्ग परेको उहाँले सुनाउनुभयो ।

फिदिम ३ की तारा श्रेष्ठले पनि अघिल्ला वर्षहरूमा फाटफुट भुईँ स्याउ रोपेर फलाउने गर्नुभएको रहेछ । उत्पादन पनि राम्रै हुन्थ्यो । तर जैविक विधिबाट उत्पादन गरेको यो फल राम्रै मूल्यमा बिक्छ भन्ने थाहा नहुँदा ताराले गाईबस्तुलाई खोले खुवाएरै सक्नुहुन्थ्यो ।

तारा,हिमाकुमारी,रोजी र शोभा पाँचथरको फिदिममा विस्तार भइरहेको भुइँ स्याउ खेतीका लागि गठित किसान समूहमा आबद्ध भएर भुइँ स्याउ उत्पादन गर्ने किसानका प्रतिनिधि उदाहरण मात्रै हुनुहुन्छ ।

उहाँहरू जस्तै फिदिमका वडा नम्बर १,३,७,८,१२ र १३ नम्बर का २ सय २५ जना महिला नव प्रवर्तन परियोजना मार्फत भुइँ स्याउ उद्यममा जुटेका छन् । ती वडामा नव प्रवर्तन परियोजनाले १५ वटा महिला किसान समूह गठन गरेर ती वडामा गत वर्षदेखि कोशी प्रदेश मुख्य मन्त्रीको कार्यालय मातहतको मुख्य मन्त्री नव प्रवर्तन परियोजना लागु भएको हो । छ वटा मध्ये वडा नम्बर ३,७,८ र १३ लाई भुईँ स्याउको पकेट क्षेत्रका रूपमा विकास गरिएको छ भने वडा नम्बर १ र १२ मा अदुवा र बेसार प्रवर्धन गरिँदैछ । 

परियोजना लागु भएका वडामा गठन भएका समूह सदस्यले कुनै किसिमको रासायनिक मल र विषादीको प्रयोग नगरी जैविक विधिबाट भुइँ स्याउ, बेसार र अदुवा उत्पादन गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

परियोजना मातहत गठन भएका समूह सदस्यले जैविक विधिबाट उत्पादित भुइँ स्याउ,अदुवा र बेसार यहाँको कञ्चनजङ्घा टी स्टेटले खरिद गरिदिने गरी किसानसँग सम्झौता गरेको छ । सबै वडामा गठन भएका १५ वटा समूहमा २ सय २५ जना महिला आबद्ध छन् । 

३,७,८र१३ नम्बर वडामा भुइँ स्याउ उत्पादनका लागि हावापानी अनुकूल छ । त्यही भएर नगरपालिकाले ती वडालाई भुइँ स्याउकै पकेट क्षेत्रका रूपमा अगाडि बढाएको नगर प्रमुख मित्रप्रसाद काफ्ले बताउनुहुन्छ । 

ग्रामीण क्षेत्रका महिलाको आय आर्जन र क्षमता विकासका लागि कृषि उद्यमलाई प्राथमिकतामा राख्दै नव प्रवर्तन परियोजनालाई भुइँ स्याउ उत्पादनमा जोडेको उहाँ बताउनु हुन्छ । 

अझै पनि गाउँ बस्तीका महिला घाँस दाउरा र चुलो चौकामा सीमित छन्,उनीहरूलाई कृषि समूहमा आबद्ध गराएर भुइँ स्याउ उत्पादनका लागि तालिम,बजार पहिचानको अभ्यास र जैविक खेती प्रविधिमा अग्रसर गराउँदै आय आर्जनमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो, समूहमा आबद्ध भएका महिलाले जैविक विधिबाट कृषि उपज उत्पादन गर्नुपर्ने र उत्पादित सामग्री खरिद गरिदिने सम्मको वातावरण नगरपालिकाले बनाएको छ,यसलाई नगर क्षेत्रका प्रत्येक टोल र घरमा जोड्ने हाम्रो लक्ष्य हो ।’ काफ्लेले भन्नुभयो ।

जैविक विधिबाट उत्पादित भुइँ स्याउ कञ्चनजङ्घा टी स्टेटले नै खरिद मात्रै गर्दैन यसले समूहलाई अर्ग्यानिक प्रमाणीकरण गर्न बनाउन सहजीकरण गरिरहेको प्रबन्धक निर्देशक निरानन्द आचार्य बताउनु हुन्छ । 

भुइँ स्याउ प्रवर्धनका लागि पाँचथरमा प्रदेश सरकारको नव प्रवर्तन साझेदारी कोषबाट १ करोड ५० लाख,फिदिम नगरपालिकाको ४० लाख र साझेदार संस्था कञ्चनजङ्घा टी स्टेटको ६० लाख गरी कुल २ करोड ५० लाख रुपियाँ लगानी भएको छ ।

यो वर्ष  टी स्टेटले किसानको झन्डै ६० हजार किलो भुइँ स्याउ खरिद गरेको थियो । टी स्टेटले यसरी किसानसँग किनेको भुइँ स्याउको जुसबाट सिरप बनाउँछ । जसको अङ्ग्रेजी नाम याकुन सिरप हो । यसरी उत्पादित सिरप देश विदेशमा निर्यात हुने गर्छ । मधुमेह र उच्च रक्तचापका बिरामीले समेत प्रयोग गर्न मिल्ने यो सिरप प्रतिकिलो तीन हजार रुपियँमा बिक्छ । 

कृषिलाई उच्च प्राथमिकतामा राख्ने रणनीति अनुसार नवप्रवर्तन साझेदारी कोष मार्फत भुइँ स्याउ, अदुवा र बेसार खेती प्रवर्धनका लागि किसान समूहलाई सक्रिय बनाइएको हो ।

ग्रामीण क्षेत्रका नागरिकको आवश्यकतामा आधारित माग समेट्दै स्थानीय तहले पेस गरेको प्रस्तावना हेरेर साझेदारीमा अगाडी बढाइएको यो परियोजनाको प्रभावकारिता हेर्दै दिगोपनाका लागि योजना बनाउन सकिने कोशी प्रदेश मुख्य मन्त्री कार्यालय मातहतको नव प्रवर्तन साझेदारी कोषका टिम लिडर प्रणय शर्मा बताउनुहुन्छ ।  

नवप्रवर्तन परियोजना मार्फत भुइँ स्याउ उत्पादक किसानलाई सोझै उद्योगसँग जोडेर उत्पादित बस्तुको बजारीकरणमा भूमिका खेलिरहेको यो अभ्यास देशकै लागि नौलो हुनसक्ने शर्माको भनाइ छ । 

माटो सुहाउने रैथाने बालीलाई प्रवर्धन गर्दै किसानको आय स्रोत वृद्धि गर्दै सिङ्गो नगरपालिकालाई थप समुन्नत बनाउन कोशेढुङगा साबित हुने परियोजना सम्बद्ध अधिकारीहरू बताँउछन ।