• १६ भदौ २०८१, आइतबार

लिमीमा उवा छर्ने चटारो

blog

बारीमा छरिएको उवालाई लिमीमा घोडाले जोतेर छरिँदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, जेठ २८ गते । नाँम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँलाई यतिबेला उवा छर्ने चटारो छ । सदा झैँ यस वर्ष लिमीवासीले दुई महिनापछि उवा छर्ने गरेको पाइएको हो ।

लिमीको हल्जी गाउँका खेण्डाप तामाङले यतिबेला लिमीका किसानहरूलाई बारीमा उवा छर्ने चटारो सुरु भएको बताउनुभयो । उहाँले खेतीपातीको समय सुरु भएको कारण काठमाडौँ र चीनको ताक्लाकोटमा काम गर्न गएका लिमीवासी समेत गाउँमा फिर्ता भएर उवा छर्ने कार्यमा व्यवस्था भएको बताउनुभयो । 

लिमीका लागि उवा मुख्य बालीमा पर्छ । उहाँले लिमीमा जग्गा जोत्नका लागि भने घोडालाई प्रयोग गरिने बताउँदै एउटै घोडाले जोतेर उवा छर्ने कार्य पुरा हुने गरेको बताउनुभयो । जिल्लाका अन्य बस्तीमा यसरी घोडाले जोत्ने गरिँदैन । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष दुई महिना ढिलो गरी उवा छर्ने कार्य किसानले गरी रहेको बताउनुभयो । 

यसअघि चैत महिनामा उवा छर्ने गरिन्थ्यो । उहाँले तिब्बतीय पात्र हेर्दा दुई महिना ढिलो गरी उवा छरे बाली राम्रो लाग्ने प्राविधिक सुझावका आधार ढिलो गरी छरिएको बताउनुभयो। खाद्य बालीमा लिमीमा उवा बाली मात्र पाक्ने गर्छ । उहाँले लिमीका तीन गाउँ तिल, हल्जी र जाङ गाउँका किसानलाई यतिबेला बिहानैबाट बेलुकासम्म उवा छर्ने चटारो भएको बताउनुभयो । किसानहरू दुई महिना ढिलो गरी छरेको कारण केही अचम्मित पनि देखिनुभएको छ । 

अर्को कुरा खेतीपातीको समय सुरु भएको कारण घरपरिवारका सदस्यहरू सबै जम्मा भएको कारण खुसीयाली समेत गर्ने गरिन्छ । गत कात्तिक महिनामा लिमी छोडेर हिँडेका स्थानीय यतिबेला गाउँमा फिर्ता हुनुभएको हो । उक्त बाली लिमीमा वर्षमा एक पटक मात्र पाक्ने गर्छ ।