• १२ साउन २०८१, शनिबार

बागलुङमा जेठमै रोपाइँ सुरु

blog

ठाकुरप्रसाद आचार्य

बागलुङ, जेठ २८ गते । बागलुङका किसानलाई जेठ महिनामै धान रोपाइँको भ्याइनभ्याइ छ । असार लाग्न केही दिन बाँकी छँदै किसानहरू रोपाइँमा व्यस्त भएका छन् । सिँचाइ सुविधा भएका स्थानहरूमा यतिखेर धान रोपाइँको चटारो सुरु भइसकेको छ । 

गोलकोट नगरपालिका ६ मजुवा फाँटमा यतिखेर धान रोपाइँ सुरु भएको छ । यहाँ असार नलाग्दै धान रोपाइँ सुरु हुन्छ । राम्रो सिँचाइ सुविधा भएको यस फाँट जिल्लाकै धेरै धान उत्पादन हुनेमा पर्दछ । 

गलकोटको मजुवा, आँगा खेत, बाह्रमुरीलगायतका फाँटमा रोपाइँ सुरु भएको स्थानीयवासी थमन थापाले जानकारी दिनुभयो । यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएको कुलाले यहाँको फाँटमा सिँचाइ सुविधा पुगेको छ ।  गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका स्थानमा असारको पहिलो हप्ताभित्रै धान रोपाइँ सकिने गर्दछ । 


धान रोपाइँ गर्दै गलकोटका कृषकहरू । तस्विरः ठाकुरप्रसाद आचार्य