• १२ साउन २०८१, शनिबार

पाँच कविता कृति लोकार्पण

blog

काठमाडौँ, जेठ २७ गते । अवकाशप्राप्त महासेनानी अनन्तकुमार बस्नेतका विभिन्न छन्दमा लेखिएका पाँच कविता कृतिको लोकार्पण भएको छ  । गोरखा पब्लिकेसन्स प्रालिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँका पाँच वटा कविता सङ्ग्रह लोकार्पण गरिएको हो ।

सर्जक अनन्तकुमार बस्नेतकी माता रत्नकुमारी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा बस्नेतको कविता सङ्ग्रहहरू अभ्यर्चना, निर्झर, बसुधा, वासन्तीबाला र गजल सङ्ग्रह निर्भmर सार्वजनिक गरिएको हो । 

सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले आफ्ना पारिवारिक नातापर्ने दाजु अनन्तकुमार बस्नेतको सैनिकको परिचयमा साहित्यकार, कविको पहिचानसमेत थपिएको बताउनुभयो । उहाँले जागिरे जीवनमा व्यस्त रहँदा दबिएको साहित्यिक प्रतिभाले जागिरबाट अवकाशपछि फक्रिने अवसरको सुरुवात मात्र भएको छ, यसले निरन्तरता पाओस् भन्दै शुभकामना दिनुभयो । 

साहित्यकार डा. रेणुका सोलुले छन्दमा कविता लेख्ने कविको सङ्ख्या कम हुँदै गएको अवस्थामा छन्दमा लेखिएका पाँच कविता कृतिसहित साहित्यफाँटमा उदाउनुभएका सर्जक बस्नेतले आशा जगाएको बताउनुभयो ।

सामाजिक अभियन्ता शर्मिला कार्कीले समाजको ऐनाका रूपमा परिभाषित साहित्य विधामा कलम चलाउन सुरु गर्नुभएका सर्जक बस्नेतका कृतिले धेरै व्यक्तित्वलाई प्रेरित गर्ने आशा व्यक्त गर्नुभयो । लेखक अनन्तकुमार बस्नेतले आफ्नो अवकाशप्राप्त जीवनमा साहित्य विधामा कलम चलाउँदै मनको भावलाई पुस्तकका रूपमा प्रकाशित गर्ने जमर्को गरेको बताउनुभयो । सो अवसरमा आराध्या पौडेल, सरस्वती अर्याल  र शिव त्रिपाठीलगायतले लोकार्पित कृतिका कविता, गजल वाचन गर्नुभएको थियो ।