• १३ साउन २०८१, आइतबार

मर्मत भएन मौसमी राडार

blog

ललित बसेल

सुर्खेत, जेठ २५ गते । मौसम पूर्वानुमानका लागि राखिएको सुर्खेतको मौसमी राडार बिग्रेको दुई वर्ष हुँदा पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन ।मर्मतसम्भारका लागि बजेट अभाव भएको भन्दै सम्बन्धित निकायले हालसम्म पनि मर्मतसम्भार गर्न सकेको छैन । वर्षायाममा हुन सक्ने विपत्बाट बचाउन तत्कालको मौसम पूर्वानुमान गर्न सो मौसमी राडरको स्थापना गरिएको थियो । 

सात वर्षअघि २०७६ साल मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा मौसमी राडार सञ्चालनमा ल्याइएको थियो ।  चट्याङ परेर राडारका केही उपकरण बिग्रेका, जेनेरेटरमा पनि क्षति पुगेकाले दुई वर्षदेखि बजेट अभावमा मर्मत हुन सकेको छैन । मर्मतका लागि जल तथा मौसम विज्ञान विभागले चार पटकसम्म सूचना आह्वान गर्दा सेवा प्रवाह गर्ने कुनै पनि कम्पनीले रुचि नदेखाएको बताइएको छ तर पाँचौँ पटकमा भने राडार मर्मतका लागि संयुक्त राज्य अमेरिकाको इइसी परामर्शदाताले मात्र रुचि देखाएपछि हाल लागत प्रस्ताव माग गरिएको छ । 

विभागका वरिष्ठ मौसमविद् तथा जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख निराजन सापकोटाका अनुसार सरकारले मर्मतका लागि न्यून बजेट दिएको भए पनि परामर्शदातासँग प्रस्ताव माग गर्न लागिएको छ । यस्तै स्थानीय स्तरमा गर्ने अन्य मर्मतको काम भने बल्ल सुरु भएको छ । दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएपछि केही गर्न नसकिएको तर अहिले भने मर्मत गर्ने तयारी थालिएको जानकारी उहाँले दिनुभयो । विभागले आगामी भदौ अन्तिमसम्म राडर सञ्चालनमा ल्याउने दाबी आयोजना प्रमुख सापकोटाले गर्नुभयो । 

मौसमी राडार विश्व बैङ्कले करिब १८ करोड रुपियाँको लागतमा निर्माण गरिदिएको हो । निर्माणको पाँच वर्षसम्म राडार राम्रोसँग चलेको थियो । पाँच वर्षभित्र बिग्रेमा निर्माण कम्पनीले नै बेहोर्नुपर्ने प्रावधान रहेको थियो तर छैटौँ वर्षमा चट्याङ परेपछि राडार ठप्प भएको थियो । 

बजेटको अभाव, मर्मतका लागि दक्ष जनशक्ति नहुनु, सुर्खेतको विद्युत्को लो भोल्टेज, बेला बेलामा चट्याङ परिरहनु, इन्धन खर्च अभावलगायतका कारणले बिग्रेको राडार समयमै मर्मत गर्न नसकिएको विभागले जनाएको छ । गत वैशाख १८ गते विभागका निर्माण आयोजना प्रमुख सापकोटाको टोलीले सुर्खेत आएर मौसमी राडारको अध्ययन गरेको थियो । त्यसपछि अहिले चट्याङबाट सुरक्षित बनाउने सामान्य कामको थालनी भइरहेको जानकारी दिँदै उहाँले मर्मत कम्पनीले काम गरेमा आगामी भदौ अन्तिमसम्ममा सञ्चालनमा ल्याइने तयारी भइरहेको बताउनुभयो । 

एक दिनको तत्काल मौसम पूर्वनुमानसहितको सूचना दिने यस्ता राडार नेपालमा तीन वटा मात्र छन् । सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको पूर्वानुमान गर्दछ । अरू दुई वटा राडर पाल्पा र उदयपुरमा रहेका छन् ।