• ८ मंसिर २०८१, शनिबार

जीवन उपयोगी शिक्षाका लागि योजनावद्ध काम गर्नु आवश्यक छ : सभामुख मण्डल

blog

आसमान नेपालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै सभामुख रामचन्द्र मण्डल। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, जेठ २४ गते। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले तीन तहका सरकारले जीवन उपयोगी शिक्षाका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार आसमान नेपालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले शिक्षा क्षेत्रमा रहेका विकृतीको अन्त्य गरी जीवन उपयोगी शिक्षा प्रदान भएमा बेरोजगारी समस्या समाधान हुने र यसले देशको अर्थ व्यवस्थामा समेत सकारात्मक असर पुग्ने बताउनुभयो। 

सभामुख मण्डलले सरकारले टोल टोलमा समुदायिक विद्यालय निमार्ण गरे पनि विद्यालयमा विद्यार्थीको अभावले समुदायिक विद्यालय माथिको विश्वास गुम्दै गएको कुराको पुष्टी गरेको बताउनुभयो। 

उहाँले शिक्षा क्षेत्रमा आसमान नेपालले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो। कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादवले शिक्षाक्षेत्रमा सुधार नभए समाज रुपान्तरण हुन नसक्ने भएकोले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता रहेकोमा जोड दिनुभयो। 

आसमान नेपालका अध्यक्ष राम प्रवेश यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा आसमान नेपालका कार्यकारी निर्देशक नवल यादव सहित एक दर्जन गैरसरकारी संघ संस्थाको प्रमुखलाई सम्मान गरिएको थियो। 

विगत २५ वर्षदेखि आसमान नेपालले शिक्षा, वाल अधिकार, पोषण, स्वास्थ्य, महिला सशक्तिकरण  सहितको विषयमा गर्दै आएको कामकाजको समीक्षा गर्नुकोसाथै समारोहबाट भावी कार्य योजना तयार गरिने आसमान नेपालका उमेश मण्डलले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न किसिमका जनचेतना मुलक नाटकको प्रदर्शन गरिएको थियो।