• १२ साउन २०८१, शनिबार

प्रदेश सभाको बहुमतबाट नीति तथा कार्यक्रम पारित

blog

प्रदेश सभाको बैठकमा धारणा राख्नुहुँदै सुदूरपश्चिमका मुख्यन्त्री दीर्घबहादुर सोडारी । तस्बिरः प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह 

धनगढी, जेठ २४ गते। सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख नजिर मियाले गत साता प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभाको बैठकबाट सर्वसम्मतीले पारित भएको छ। 

यसअघि नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बयालपाटा अस्पताललाई कसरी सञ्चालन गर्ने भन्नेमा छलफल गर्ने बताउनुभयो। उहाँले बयलपाटा अस्पतालमा बजेट विनियोजन गर्न स्थायी सरकार तयार नभएको पनि संकेत गर्नुभयो।

उहाँले गोदावरीलाई प्रदेशको राजधानी बनाउने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन गर्ने बताउदै त्यसवरका धार्मिक, पर्यटकीय क्षेत्रको विकासका लागि प्रयास गरिने बताउनुभयो।

मुख्यमन्त्री सोडारीले बजेटमा विचौलिया हावी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै, त्यस्तो कमजोरी भेटिए कमजोरी गर्नेलाई कारवाही गर्ने बताउनुभयो। उहाँले शहिद गोविन्द गौतम क्षेत्रको विकासका लागि बजेटमा ध्यान दिने प्रतिवद्धता समेत गर्नुभयो। उहाँले बजेट ल्याउदा सत्ता र प्रतिपक्ष दुबैसित छलफल गर्ने पनि बताउनुभयो।

यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तापक्षका नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले नीति तथा कार्यक्रममा दलित, थारु लगायतका पछाडि परेका वर्गलाई समेटेको बताउनुभयो। उहाँले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अनुसार कृषि उत्पादन बढाउने गरेर धान उद्योग बनाउने गरेर बजेटमा व्यवस्था गर्नुपर्ने बताउनुभयो।

सत्तापक्ष नेकपा (माओवादी केन्द्र) का डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रदेश आयोजना बैंक, विषयगत, क्षेत्रगत गौरवका आयोजना बनाउने कुरा पनि सकारात्मक भएको उहाँले बताउनुभयो।

यस्तै गरेर सत्तापक्ष नेकपा (एकीकृत समाजवादी) का बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य नरेशबहादुर शाहीले नीति तथा कार्यक्रमले धार्मिक पर्यटन, सम्भावित पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिने कुरा सकरात्मक भएको बताउनुभयो। उहाँले लक्ष्य अनुसार नै काम गरेर हिँड्नु पर्ने बताउदै सङ्घीय सरकारसँग पनि एकताबद्ध भएर सुदूरपश्चिमका लागि ठुला योजना माग्नु पर्ने बताउनुभयो।

सत्तापक्ष नेकपा (माओवादी केन्द्र) कैलालीबाट निर्वाचित रमेशसिंह धामीले प्रदेश सरकारका संरचना नौ वटै जिल्लामा बनाउनुपर्ने, पर्यटन क्षेत्रको विकास र सेती प्रादेशिक अस्पताललाई दुई सय शप्याको बनाउने गरेर बजेट आउनु पर्ने माग गर्नुभयो। सत्तापक्ष एमालेका डोटीबाट निर्वाचित चक्रबहादुर मल्लले दस्तावेजलाई जनताले पत्याउन कठिन हुने बताउदै व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट निर्वाचित अछामका प्रदेश सभा सदस्य मेघराज खड्काले सुदूरपश्चिमका सम्मानीत व्यक्तिका नाममा आएका कार्यक्रम ठिक छन् त्यसमा मेरो समर्थन छ यो लागू हुनुपर्छ। स्रोत कसरी जुटाउने हो त्यसमा ध्यान दिनुपर्छ। 

उहाँले मन्त्रालयमा मन्त्री नहुँदा बजेट ठिक आउछ कि आउन्न भन्नेमा पनि आशंका व्यक्त गर्नुभयो। प्रदेश सभा सदस्य खड्काले बयालपाटा अस्पतालमा उचित बजेट विनियोजन गर्न आग्रह गर्नुभयो।

प्रतिपक्षी दल राप्रपाका खेमादेवी विष्टले विगतमा अत्तरियामा मोनोरेल बनाउने भनियो, चिडियाखानाका कुरा कार्यान्वयन नभएको बताउदै अहिलेको सरकारले पनि नीति तथा कार्यक्रलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका जुना दानीले नीति कार्यक्रमले जनतामा उत्साह थपेको नपाएको बताउदै कार्यान्वयनमा आशंका गर्नुभयो। 

नीति कार्यक्रममाथिको छलफलमा एमालेका सन्तोष शर्मा थापा, वीरबहादुर थापा, माओवादीका लक्ष्मीदेवी विक, गीतादेवी माल लगायतले भाग लिनुभएको थियो।