• १२ साउन २०८१, शनिबार

कर्णाली हुड्के नाच व्यावसायिक बन्दै

blog

हुड्के नाच । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, जेठ २४ गते । कर्णाली प्रदेशको प्रख्यात हुड्के नाच पछिल्लो समय व्यावसायिक रूपमा नाचिन थालेको छ । शुभ विवाह, व्रतबन्ध, जन्मोत्सव, जीवनका सफलता अर्थात् सरकारी सेवामा प्रवेश, राजनीति सफलताका साथै सामाजिक कार्यमा खुसीयाली मनाउन नाच्ने नचाउने हुड्के नाच अहिले व्यवसायीकरण हुन थालेको हो ।

रास्कोट–२ का नैने दर्जी उमेरले ४३ वर्षको हुनुभयो । सानै उमेरदेखि हुड्के नाचमा भाग लिनु भएका नैने अहिले कतै नाच्न जानु परेमा निश्चित शुल्क लिएर जाने गर्नुभएको छ । 

उहाँसँगै ६ जनाको समूह संयुक्त सहभागी हुन्छ । जिल्ला बाहिर जानु परेमा ६ जनाका लागि दैनिक ज्याला बाटो खर्च जोडेर ५० हजारदेखि एक लाखसम्मको सम्झौतामा सहभागी हुने गर्नुभएको छ । 

जिल्ला तथा छिमेकी गाउँपालिका तथा नगरपालिका जानुपरेमा दिनको हिसाबले सहभागी हुने गरिएको डब्बले दर्जीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “हामी एकै गाउँका दुई जना हुड्के र चार जना हुड्केसँगै स्वर मिलाएर (स्वरे) गाउने गरी ६ जनाको समूहको छ । दैनिक ज्यालामा काम गरिरहेका छौँ ।”

हुड्के नाच कालीकोटमा प्रख्यात छ । जुम्ला, मुगु, हुम्ला, सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम लगायत जिल्लामा पनि पछिल्लो समय विकास हुँदैगएको छ । जुम्ला र कालीकोटका हुड्के कलाकार २०६३ सालमा काठमाडौँसम्म पुगेर कला प्रस्तुत गरेका थिए ।