• ८ मंसिर २०८१, शनिबार

हावाहुरीले ४७ घरमा क्षति

blog

हावाहुरीले क्षति पुर्‍याएकाे गाउँ । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ २४ गते । हावाहुरीले सर्लाहीको बरहथवा नगरपालिका–१, हजरियामा ४७ वटा घरको छानो उडाएको छ । बुधबार रातिको हावाहुरीले बरहथवा नगरपालिका वडा नं. १ को दुसाद टोल र नयाँबजार टोलमा व्यापक क्षति पुर्‍याएको हो । 

इलाका प्रहरी कार्यालय हजरियाले सङ्कलन गरेको क्षतिको विवरण अनुसार नयाँबजारमा ४१ घर र दुसाद टोलमा छ वटा घरको छानो उडाएको छ । बरहथवा नगरपालिका १ का वडाध्यक्ष राकेशकुमार सहनीले मध्यरातमा आएको हावाहुरीले गाउँका कच्ची घरको छानोमा व्यापक क्षति पुर्‍याएको जानकारी दिनुभयो । वडाध्यक्ष सहनीका अनुसार हावाहुरीले दुईसय बढी रुख बिरुवा ढालेको छ । 

बिजुलीको पोल समेत ढालेकाले गाउँभर विद्युत् अवरुद्ध भएको छ । घरको छानो, रुख र बिजुलीको पोलमा पुर्‍याएको क्षति हेर्दा ठुलो मानवीय क्षति टरेको वडाध्यक्ष सहनीले बताउनुभएको छ । 

राति सुतेका सबै मानिस तत्काल सुरक्षित भई बसेकाले मानवीय क्षति भने हुन पाएन । हावाहुरीले दुई गाउँका अधिकांश स्थानीयले टायल तथा खपडाले छाएको घरको छानोमा क्षति गरेको छ । 

दुसाद टोल र नयाँबजारमा गरी हावाहुरीले आठ लाख बढीको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । सर्लाहीमा बिहीबार बिहानीपख पनि केहीबेर भीषण हावाहुरी चलेपनि ठुलो किसिमको क्षति कहीँ नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।