• १२ साउन २०८१, शनिबार

सामाजिक सौहार्दको प्रतीक बन्दै बटसावित्री पर्व

blog

बर्दिबासको बरको रुखमुनि बिहीबारबाट सावित्री पर्व मनाउने विवाहित महिला । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, जेठ २४ गते । विवाहित महिलाहरूले अटल सौभाग्य र पतिको दीर्घायुको कामनासहित जिल्लाभरबाट सावित्री पर्व मनाएका छन् । यस अवसरमा विवाहित महिलाहरूले बाट वृक्षको सामूहिक रूपमा पूजा गर्नुका साथै बरको रुखको फेदीमा काँचो धागोको फेरी बाँधी पतिको अटल सौभाग्यको कामना गर्ने गर्छन् । 

यस दिन महिलाहरूले व्रत बस्ने र फलफलाहार ग्रहण गर्ने प्रचलन छ । स्कन्द पुराण अनुसार सावित्रीले यमराजलाई बाध्य पारेर ३ वटा वरदान प्राप्त गरी बाट वृक्षमुनि मृत रहेका आफ्ना पति सत्यवानलाई पुर्नजीवित पारेको प्रतीकको रूपमा यो पर्व मनाइन्छ । विगत केही समयले बटसावित्री पर्व सामाजिक सौहार्दको प्रतीकको रूपमा विकसित हुँदै गएको छ। 

विगतमा दक्षिणीवर्ती समाजमा मनाइने यो पर्व अब उत्तरी भेगका महिलाहरूले पनि मनाउनु थालेका छन् । यो पर्वले समाजमा एकता र अपनत्व र सह अस्तित्व कायम गर्न योगदान पुर्‍याएको जनाइएको छ । बर्दिबास १ की ७० वर्षीय हिरामाया श्रेष्ठ आफ्नी बुहारी शर्मिलासँग बाट सावित्री व्रत बस्नुभएको छ । उहाँले यो पर्व पनि तीज जत्तिकै पवित्र र पौराणिक भएकोले आफूले छोरी बुहारीकासाथ मान्दै आएको बताउनुभयो । 

श्रीमानको सुस्वास्थ्य, दीर्घायु र स्नेहको गाँठो बलियो हुने कामनासाथ यो पर्व मनाउँदै आएको बताउनुभयो । नव विवाहित पनि यो पर्वप्रति उत्तिकै आस्था देखिएको छ । महिना दिनअघि मात्र विवाह भएकी बर्दिबास १ कै शशीकला श्रेष्ठ त श्रीमानसाथ बाट वृक्षको पूजा गर्नु भएको छ । 

श्रीमानको जागिरको कारण बर्दिबासमा बस्दै आउनुभएकी सप्तरीकी सङ्गीता देव र दुर्गा मिश्रले श्रीमानको दीर्घ जीवनका साथै उत्तरोत्तर प्रगति र सुख, सौहार्द र प्रेमपूर्ण दाम्पत्यको लागि यो पर्व मनाउने गरेको बताउनुभयो । "पर्व पवित्र हुने भएकोले यसलाई आस्थापूर्वक मनाउँदा चिताएको कुरा पुग्ने विश्वासका साथ यो पर्व पनि मनाउने गरेका छौँ," देवले भन्नुभयो । धर्म आस्था आफ्नो ठाउँमा छ । वृक्षको पूजामा केन्द्रित बटसावित्री पर्वले पर्यावरण संरक्षणमा पनि सकारात्मक सन्देश प्रवाह भएको जिल्ला वन अधिकृत (डिएफओ) सन्तोष झाले बताउनुभयो । 

"साथै यो पर्वको कारण बाट वृक्षमुनि एकत्रित भएका महिलाले सामाजिक एकता र अपनत्व बढाउन पनि उत्तिकै भूमिका निर्वाह गरेको छ," झाले भन्नुभयो ।