• ८ मंसिर २०८१, शनिबार

खानेपानी समितिको निर्वाचनमा राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी

blog

धनुषाको लालगढस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, जेठ २४ गते । धनुषाको लालगढमा रहेको लालगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयन निर्वाचन विधिबाट हुने भएको छ । सहमतिको प्रयासबाट नयाँ कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको हो ।

समितिले निर्वाचन प्रक्रियालाई अगाडि बढाएको छ । ११ जनाको कार्यसमिति र तीन जनाको लेखासमिति गरी १४ जना पदाधिकारी चयनका लागि हुन लागेको चुनावमा अध्यक्ष पदमा चार जनाको गरी ५१ जनाले मनोनयन दर्ता गराएका छन् । समितिले तोकेको निर्वाचन अधिकृत नारायणविक्रम थापाले उम्मेदवारहरूको अन्तिम नामावली शुक्रबार प्रकाशन गरिने बताउनुभयो । उहाँले असार १ गते मतदान मिति तोकिएको बताउँदै एक हजार आठ सय ५४ मतदाता रहेको जानकारी दिनुभयो ।

नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । चुनावमा नेकपा एमालेबाट पूरै १४ सिटमा उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेस–१३, माओवादी केन्द्र १३ र रास्वपाले ११ सिटमा उम्मेदवार खडा गरेका छन् ।

लालगढका स्थानीय समीर घिमिरेले खानेपानी जस्तो सामाजिक संस्थाको चुनावमा राजनीतिक दलको प्रतिनिधित्व गर्दै भाग लिनु राम्रो नभएको बताउनुभयो । सामाजिक सङ्घसंस्थालाई राजनीतिक दलहरूको प्रभावबाट मुक्त राख्नुपर्ने भन्दै उहाँले पछिल्लो समय विद्यालय, सामुदायिक वन, उद्योग वाणिज्य सङ्घलगायत सामाजिक संस्थामा दलीय प्यानल बनाएर चुनाव लड्ने प्रवृत्ति बढेको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “जहाँ पनि दलीय हस्तक्षेप राम्रो होइन । यसरी चयन भएका पदाधिकारी संस्थाभन्दा दलप्रति बढी उत्तरदायी हुने गरेको छन् । त्यस्तै हो भने राजनीतिक दलको चुनाव चिह्न लिएर लडोस् ।”

सोही ठाउँका ध्रुवप्रसाद गजुरेलले नयाँ कार्यसमिति चयनका लागि चुनावमै जानुपर्ने स्थिति आउनु नै समाजका लागि राम्रो पक्ष नभएको बताउनुभयो । स्थानीय चुनावको झझल्को दिने गरी भइरहेको यो चुनावले समाजलाई बाँड्ने काम भइरहेको उहाँको भनाइ छ ।

निर्वाचन अधिकृत थापाले राजनीतिक दलको हैसियतमा कसैले पनि उम्मेदवारी दर्ता नगराएको दाबी गर्नुभयो । उहाँले व्यक्ति–व्यक्ति आएर मनोनयन दर्ता गराएको जानकारी दिनुभयो ।

समितिको पछिल्लो पटक २०७३ जेठ २९ गते सम्पन्न पाँचौँ साधारण सभाबाट स्थानीय सूर्यप्रसाद पुडासैनीको नेतृत्वमा समिति चयन भएको थियो । सो समितिको कार्यविधि २०७८ जेठ २८ गते समाप्त भएपछि वडाध्यक्ष सविनविक्रम थापाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो । वडाध्यक्ष थापा नेतृत्वको समितिले छ महिनाभित्र साधारण सभा राख्न नसकेपछि मिथिला नगरपालिकाले स्थानीय भूपालराज बरालको नेतृत्वमा तदर्थ समिति गठन गरेर पठाएको छ । सो समितिले पाँच सदस्य अध्यक्ष मण्डल चयन गरेर नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रियामा गएको छ ।