• १२ साउन २०८१, शनिबार

हुरीबतासले खानेपानीमा क्षति

blog

बैतडी समाचारदाता

बैतडी, जेठ २४ गते । हुरीबतासले लिफ्ट खानेपानीको सो लार पाता उडाएपछि ११९ परिवार खानेपानीबाट वञ्चित भएका छन् । हुरीबतासले सोलारमा क्षति गर्दा विद्यालय, अस्थायी प्रहरी पोस्ट र बर्थिङ सेन्टरमा समेत खानेपानी अवरुद्ध भएको छ । शनिबार अपराह्न चलेको हावाहुरीले पाटन नगरपालिका–१, गेरुवापानीस्थित मुहानमा राखिएका ७५ वटा सोलार पातामध्ये ३० वटा पाता उडाएर काम नलाग्ने गरेर क्षति पु¥याएको छ । सोलार पातामा क्षति पुगेपछि बस्तीमा खानेपानीको हाहाकार भएको छ । 

हावाहुरीले लिफ्ट खानेपानीमा करिब १५ लाख रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । गत असारमा एक करोड नौ लाख रुपियाँको लागत सम्पन्न लिफ्ट खानेपानी योजनाको सोलार पाता हुरीले उडाएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले बताउनुभयो । हुरीले लिफ्ट खानेपानीका सोलार पातामा क्षति गरेपछि स्थानीय सरस्वती मावि बयलचौरा, कालिका आधारभूत विद्यालय सकार, ज्ञानज्योति आधारभूत विद्यालय गणेशपुरमा पानी आपूर्ति बन्द भएको छ । 

त्यसै गरी अस्थायी प्रहरी पोस्ट बयलचौरा, बर्थिङ सेन्टरमा खानेपानीको आपूर्ति बन्द भएको वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताउनुभयो । पानी आपूर्ति बन्द हुँदा गर्मी मौसममा गाउँमा पानीको हाहाकार मच्चिएको उपभोक्ता समितिका उपाध्यक्ष गणेश भट्टराईले बताउनुभयो ।  

 खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत हुरीबतासले गरेको क्षतिबारे प्रहरी मुचुल्का उठाउन भनिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख गोविन्द देवकोटाले बताउनुभयो । उहाँले क्षतिको विवरणसहितको मुचुल्का आए मर्मतका लागि प्रदेश सरकारलाई सिफारिस गरेर पठाउने जानकारी दिनुभयो ।