भुवन कार्की
रुपन्देही, जेठ २३ गते। बुटवलमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ।मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो।
उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री अर्यालले नेपालमा रोजगारीको अवसर हुँदा हुँदै पनि युवा विदेशमा रोजगारीमा जाने गरेको बताउँदै अब नेपालमै रोजगारीको अवसर सिर्जना गर्न रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताउनुभयो।
उहाँले रोजगारदाता र श्रमिकबिचको खाडल गहिरो रहेको बताउँदै त्यसलाई कम गरेर नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले हाम्रा विश्वविद्यालयले अव सिपमा आधारित शिक्षा दिनुपर्ने बताउनुभयो।मास्टर डिग्री गरेका युवाहरु सीप नभएकै कारण नेपालमा काम नपाउँदा विदेश पलायन हुन बाध्य भइरहेकोले अब सिपमा आधारित शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको मेला बिहीबारसम्म सञ्चालन हुनेछ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा श्रमाधान रोजगार मेला भएको हो।
रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ।मेलामा बेरोजगार युवाको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिनेछ ।
श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले रोजगारी खोज्ने र रोजगारदातालाई जोड्ने गरी मेलाको आयोजना गरिएको बताउनुभयो।
मेलामा करिब २० हजार मानिसको सहभागिता हुने र ७ सय जनाले मेलाबाट रोजगारी प्राप्त गर्न सक्ने अपेक्षा आयोजकले गरेका छन्।
मेलामा रोजगारदाताको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिनेछ।