चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २३ गते। वृक्षरोपण अर्थात् बिरुवा रोपेपछि संरक्षण गर्नु अनिवार्य भएको सरोकारवालाले बताएका छन्।विश्व वातावरण दिवसको अवसरमा बुधबार ताप्लेजुङमा आयोजित एक अन्तक्र्रियामा सहभागी सरोकारवालाले उचित हेरचाह र संरक्षण नभएमा बिरुवा रोप्नुको कुनै अर्थ नहुने बताएका हुन् ।
सदरमुकाम फुङ्लिङमा आयोजित अन्तरक्रियामा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले वातावरण सन्तुलनका लागि वृक्षरोपण आवश्यक भएको बताउनुभयो।जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्षसमेत रहनुभएका लामाले वृक्षरोपण अर्थात् बिरुवा रोपेपछि हुर्काउन र बढाउनका लागि संरक्षण गर्नु आवश्यक हुने बताउनुभयो।उचित संरक्षणको अभावमा वृक्षरोपण बिरुवाहरु नहुर्किने गरेको उहाँले बताउनुभयो ।
मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले वृक्षारोपण र त्यसपछि संरक्षण अनिवार्य हुनुपर्ने बताउनुभयो।आयस्रोतका रुपमा हुर्किसकेका तथा छिप्पिएका रुख कटान गर्नुपर्ने र सो ठाउँमा पुनः वृक्षारोपण गरी वन जङ्गल बनाउनुपर्नेमा अध्यक्ष कार्कीले जोड दिनुभयो।स्वच्छ र सन्तुलित वातावरणका लागि बुढो रुखभन्दा हरियाली नयाँ बोट विरुवा आवश्यक हुने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले वृक्षरोपण गरेपछि बिरुवा हुर्काउने योजनामा सबैको ध्यान जानुपर्ने बताउनुभयो।निमित्त डिभिजनल वन अधिकृत रामजी शाहले वातावरण सन्तुलित राख्नका लागि दिगो वन व्यवस्थापन हुनु प्रमुख आवश्यकता भएको बताउनुभयो।सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका जिल्ला अध्यक्ष सुरज ओझाले वृक्षरोपण गरेपछि हुर्काउनमा चुनौती रहेको बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले वातावरण कायम राख्नका लागि स्थानीय सरकारसहितका निकायले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो।निरन्तर रुख कटान अर्थात् गोलिया निकासीले वन उजाड हुनुका साथै भूक्षयको जोखिम बद्दै गएको बताउँदै पत्रकार अधिकारीले वातावरण कायम राख्नमा वृक्षरोपण, हेरचाह तथा संरक्षण र वन व्यवस्थापनमा सम्बन्धित पक्ष जिम्मेवार बन्न सुझाव दिनुभयो ।
अन्तक्र्रियामा वन अधिकृत प्रमेश्वर पासवानले वातावरण जोगाइराख्नका लागि हालसम्म हुँदै आएको पहल प्रयत्न, चुनौती र गर्नुपर्ने दायित्वमा केन्द्रित रहेर आफ्नो प्रस्तुति राख्नुभएको थियो।डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा हाल इन्टर्नसिपमा ताप्लेजुङ आएका पूर्वाञ्चल विश्वविद्यालय विराटनगर, वनविज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीसमेतको सहभागिता थियो।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                