• १६ भदौ २०८१, आइतबार

नरहरिनाथमा १७ विद्यालय समायोजन

blog

नन्दादेवी माध्यामिक विद्यालयका विद्यार्थी । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, जेठ २२ गते । 
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले लामो प्रयासपछि गाउँपालिका भित्रका १७ विद्यालय समायोजन गरेको छ । २०७४ सालको स्थानीय सरकारले सुरु गरेको विद्यालय समायोजन २०८१ मा आएर कार्यान्वयन भएको छ ।

गाउँ शिक्षा समितिको १७ गतेको निर्णय र गाउँ कार्यपालिकाको १८ गते निर्णय अनुसार १७ विद्यालय नजिकैको अर्को विद्यालयमा समायोजन गर्नुपर्ने भएकाले सोही अनुसार निर्णय कार्यान्वयन गर्न सम्बन्धित विद्यालयलाई पत्राचार गरिएको छ । युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दुर्गलाल न्यौपानेले तीन वटा बाल विकास केन्द्रसहित १७ विद्यालय समायोजन गर्ने निर्णयका साथ पत्राचार  भएको बताउनुभयो ।

उहाँले ११ विद्यालयको हकमा बालविकास केन्द्र मात्र राखेर अरू कक्षा समायोजन गरिएको र तीन वटा बाल विकास केन्द्र पुरै नजिकको विद्यालयमा समायोजन गरिएको र कक्षा ८ सम्म सञ्चालन भएका तीन वटा विद्यालयको हकमा कक्षा ६ देखि ८ सम्म समायोजन गरिएको बाँकी कक्षा ५ मुनि भने यथावत् राखिएको जानकारी दिनुभयो ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालय तथा कक्षाकोठा समायोजन गर्नुपरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं १ देखि ९ सम्मकै विद्यालय समायोजनको सूचिमा परेका छन् । विभिन्न वडामा रहेका माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले लामो समयको छलफलपछि विद्यालय समायोजनको योजना कार्यान्वयनमा आएको बताउनुभयो ।

सरकारी विद्यालयमा पढ्ने विद्यार्थी बिस्तारै संस्थागत विद्यालय पढ्नका लागि सहर जान थालेपछि सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदीप बाेहोराले विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका कारणले विद्यालयका साथै कक्षा कोठा समायोजन गर्नुपरेको बताउनुभयो ।

उहाँले विद्यालय र कक्षा कोठा समायोजन भए पनि शिक्षकहरूको दरबन्दी भने यथावत् रहने र समायोजन भएकै विद्यालयमा सुरुवा हुने व्यवस्था मिलाएको बताउनुभयो । यता नन्दादेवि माध्यमिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढिरहेका छ । त्यहाँ विद्यार्थीको आकर्षण बढिरहेको छ ।