• ८ पुस २०८१, सोमबार

शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुङ्ग्याउनुपर्छ : सांसद सिटौला

blog

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौला

काठमाडौँ, जेठ २२ गते । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताउनुभएको हो । उहाँले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरू ढिलो गर्नुहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिङ्गो नेपालका राजनीतिक दलहरू विवादको घेराबाट मुक्त हुन नसक्ने भयौँ । राष्ट्रिय घेराबाट, अन्तर्राष्ट्रिय घेराबाट । यथार्थ हो । त्यसकारण सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु, यो विषयलाई मूल प्राथमिकताको आधारमा सरकारले यसलाई टुङ्ग्याउनका लागि प्रयास गरोस् । यसमा प्रतिपक्षमा रहेका जतिपनि हामीहरू छौँ, रचनात्मक सहयोग गर्न चाहन्छौँ । गहिराइमा पुगेर, फेरिपनि नबल्झिने गरी यसलाई टुङ्ग्याउनुपर्छ । यसले मूल प्राथमिकता पाएन भने राजनीतिक दलहरू बिचको विश्वास सङ्कटग्रस्त बन्दै जान्छ । जसको सरकार बनेपनि दलहरू बिचको विश्वास बन्दैन । अविलम्ब यसलाई टुङ्ग्याउनुपर्छ ।’’

उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताउनुभयो । उहाँले यस विषयलाई टुङ्ग्याउन नसकेमा दलहरू बिचको विश्वास सङ्कटग्रस्त बन्दै जाने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरू पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

‘‘सशस्त्र द्वन्दको दुईवटा मूल पाटो, एउटा राज्य छ । जसको सुरक्षा निकायको हातमा बन्दुक छ । त्यसका लागि तयार छ । अर्को विद्रोही माओवादी छ, उसको लडाकुको हातमा पनि बन्दुक छ । भिडन्त भयो त्यहाँ । तर दुईवटा बन्दुकको बिचमा परेका जो मानिसहरू छन्, चाहे माओवादीका लडाकुले सुराकीको शङ्कामा पक्रेर लगेका मान्छेको घटना होस् । चाहे सेनाले यसले माओवादीलाई सहयोग गर्‍यो है भनेर गाउँबाट पक्रेर लिएर गएको मान्छे होस् ।,’’ उहाँले भन्नुभयो, ‘‘यी विषयमा हामीले समयमै न्याय दिन सकेनौँ भने । विस्तृत शान्ति सम्झौताको एउटा मूल राजनीतिक पक्ष संविधानसभाबाट संविधान निर्माण गर्ने, अर्को द्वन्द्वपीडितहरूलाई न्याय दिने नै हो । पहिलो पाटो त हामीले पुरा गर्‍यौँ संविधान जारी भयो । तर अर्को पाटो हामीले पूरा गर्न सकेनौँ भने, सरकारले यसलाई प्राथमिकतामा राख्नुभएन भने, समयमै पुरा गर्न सकेनौँ भने क्रोनिक हुँदै जाने भयो ।’’

उहाँले सङ्घीयताको कार्यान्वयनसँग सम्बन्धित कानुनहरू निर्माण गर्न पनि ढिलो गर्नु नहुने बताउनुभयो ।