• ८ पुस २०८१, सोमबार

सरकारले ल्याएको बजेट कार्यान्वयन चुनौतीपूर्ण : एमाले सचिव विष्ट

blog

प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा दलिय आधारमा बजेटमाथिको छलफलमा आफ्नो भनाइ राख्दै नेकपा (एमाले)का सांसद गोकर्ण बिष्ट । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, जेठ २२ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताउनुभयो । उहाँले सरकारले करका दर यथावत् वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तीमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गर्नुभयो ।

सचिव विष्टले चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहाली लाग्दो अवस्था देखापरेको जिकिर गर्नुभयो । उहाँले यसका लागि सार्वजनिक पुनरावलोकन उच्चस्तरीय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नका लागि संसदमा साझा सहमतिका साथ अगाडि जान नसके विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सीमित हुने अवस्था रहेको दाबी गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षको अहिलेसम्म आठ खर्ब ७५ अर्ब राजस्व प्राप्त हुँदा आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिएको बताउनुभयो । उहाँले वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको भन्दै आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा यथार्थसँग मेल खाने सम्भावना कम रहेको जिकिर गर्नुभयो ।

उहाँले आन्तरिक ऋणबाट तीन खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको भए पनि सरकारले आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा सङ्कुचित हुने, बैङ्कको ब्याजदर बढ्ने, निजी क्षेत्रले उत्पादनवृद्धि र रोजगारी गर्ने सम्भावना कम  हुने भन्दै यो विषयमा अर्थमन्त्री गम्भीर हुन सुझाव दिनुभयो । सचिव विष्टले बजेटले पाँच उद्देश्य, प्राथमिकता, रणनीति र रूपान्तरणकारी क्षेत्र छुट्याएपनि त्यसको अनुपातमा कार्यक्रममा बजेट विनियोजन कम भएको बताउनुभयो । उहाँले कृषि दशक भनिएको तर यही वर्षको बजेटमा कृषि क्षेत्रमा बजेट घटाउनु राम्रो नभएको बताउनुभयो ।

उहाँले १६ लाख पर्यटक भित्र्याउने भनिए पनि पर्यटक आउने पूर्वाधारहरू पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय स्थल चलाउने उद्घोष नभएको भन्दै असन्तुष्ट जनाउनुभयो । उहाँले सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म ६ प्रतिशतको आर्थिक वृद्धिको सम्भावना पनि कम रहेको बताउनुभयो ।