• १२ साउन २०८१, शनिबार

पाँच कक्षापछि पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका

blog

फाइल तस्बिर

गलकोट (बागलुङ), जेठ २१ गते । बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिनुभयो । उहाँको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गर्नुभयो । निसीखोला गाउँपालिका-५ निसेलढोरमा अशिक्षा, गरिबी र बालविवाह व्याप्त छ । 

त्यसैको चेपुवामा सम्झनाजस्ता धेरै किशोरीहरू परेका छन् । निसेलढोरमा पाँच कक्षासम्म अध्ययन हुने गरेको र माध्यमिक शिक्षा अध्ययनका लागि घरबाट टाढा जान सम्भव नभएपछि पढाइ छोडेको विश्वकर्माले दुःखेसो गर्नुभयो । “१९ वर्षकी भएँ, पढाइको महत्त्व अहिले बुझ्दै छु । घरबाट पाँच घण्टाको पैदल दूरीमा  माध्यमिक विद्यालय छ, त्यसकारण पढ्न सम्भव भएन । सानै उमेर भएकाले कोठा खोजेर पनि बस्न सकिएन, यहाँ म मात्रै होइन विद्यालय नहुँदा धेरैले पाँच कक्षापछि पढाइ छोड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

शिक्षा मात्र होइन यहाँ विद्युतको पनि त्यस्तै समस्या छ । एक वर्षअघि नेपाल टेलिकमले मोबाइल टावर राखे पनि मोबाइल चार्ज गर्न नसकिएको स्थानीयको गुनासो छ  । निसेलढोरमा ५५ स्थायी र एक सय ५० घरमा घुम्ती बसाइ हुन्छ । घुम्ती बसाइ गर्ने परिवारका बालबालिकाले निसीखोलाको बेँसीमा विद्यालयमा अध्ययन गर्ने भए पनि निसेलढोरमै रहेका बालबालिका कक्षा पाँचपछि अध्ययन छोड्ने गरेका स्थानीय खिमा विकको भनाइ छ ।

“यहाँ त बालविवाह सामान्य जस्तै छ, केही बालबालिका विद्यालय नै जाँदैनन्, कक्षा पाँचसम्म त गाउँमै पढाइहुन्छ, त्यसमाथि अध्ययन गर्न समस्या छ”, विकले भन्नुभयो । पाँच कक्षासम्म अध्ययन गर्न मिल्ने कुँडेढोर प्राथमिक विद्यालयमा अहिले ५२ जना विद्यार्थी छन् । विद्यालयका शिक्षक रुद्र विकले पनि धेरैले पाँच कक्षापछि पढाइ छोड्ने गरेका बताउनुभयो । वि.सं.२०६४ मा स्थापना गरिएको कुँडेढोर प्राथमिक विद्यालय जीर्ण अवस्थामा छ । रासस