• १२ साउन २०८१, शनिबार

बाली उपचार शिविर सञ्चालनका लागि कार्यविधि

blog

काठमाडौँ, जेठ २१ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाली उपचार शिविर सञ्चालनका लागि नीतिगत व्यवस्था गरेको छ । कृषि मन्त्रालयले त्यसका लागि बाली उपचार शिविर कार्यक्रम सञ्चालन कार्यविधि २०८१ कार्यान्वयनमा ल्याएको छ । 

कृषकको बालीनालीमा लाग्ने रोग तथा शत्रुजीव व्यवस्थापनको सही पहिचान गरी फिल्डमै उपयुक्त प्रविधि सिफारिस गर्न शिविर सञ्चालनको व्यवस्था गरेको हो । बाली उत्पादनमा हुने क्षति न्यूनीकरण तथा उत्पादन लागत कम गराउने, बाली उपचार शिविरमा प्राप्त नमुनाहरू र त्यसको निदानको अभलेखीकरण गर्न शिविरको आवश्यकता परेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । 

विषादीको प्रयोग कसरी गर्ने, कृषकको प्राविधिक समस्या समाधानका साथै प्राविधिकको क्षमता अभिवृद्धिका काम पनि शिविरले गर्ने बताउँदै उहाँले बालीनाली नयाँ शत्रुजीव देखा परेमा समयमै उचित व्यवस्थापन लागि सचेतना फैलाउन पनि शिविरले सहयोग पु¥याउने बताउनुभयो । 

बाली उपचार शिविर सञ्चालन केन्द्र वा कृषि विभाग मातहतका कार्यालयहरू, कृषि अध्ययन अनुसन्धानमा संलग्न निकाय, ज्ञान केन्द्र, कृषि विकास कार्यालयलगायतले शिविर सञ्चालन गर्न सकिने व्यवस्था कार्यविधिले गरेको छ । 

यी निकायले आफ्नो जिल्लाको आवश्यकता अनुसार वा त्यस क्षेत्रका समूहको माग एवं सेवाको पहुँच नपुगेका तथा व्यावसायिक खेती भएको वा शत्रुजीवको समस्या बढी भएको वा रासायनिक विषादीको अत्यधिक प्रयोग हुने क्षेत्रमा शिविर सञ्चालन गर्नुपर्ने मापदण्ड रहेको छ । 

बाली उपचार शिविरको स्थान सकेसम्म धेरै जसो कृषकलाई पायक पर्ने स्थानमा हुनुपर्ने छ र त्यसको जानकारी कृषकलाई दिनुपर्ने कार्यविधिमा उल्लेख छ । 

शिविरमा जति पनि गतिविधि तथा क्रियाकलाप हुन्छ, त्यसको अभिलेख तयार गरी आफू मातहतको माथिल्लो निकायलाई बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ । राष्ट्रिय रूपमा शत्रुजीवको अभिलेख तयार गर्न बाली उपचार शिविरमा सङ्कलन भएको शत्रुजीवसम्बन्धी तथ्याङ्कलाई सुझाव पत्रमार्फत प्लान्ट डाक्टरले अभिलेख केन्द्रलाई बुझाउनुपर्ने हुन्छ । 

बाली उपचार शिविरसम्बन्धी प्रशिक्षणमा कृषिमा स्नातक उत्तीर्ण गरेको व्यक्ति वा कृषि सेवाको अधिकृत स्तरको व्यक्ति हुनुपर्ने कार्यविधिमा उल्लेख छ । यो नभए प्राविधिक सहायक पदमा कम्तीमा तीन वर्षको अनुभव भएकै हुनु पर्छ । एकीकृत शत्रुजीव व्यवस्थापनका प्रशिक्षक प्रशिक्षण पूरा गरेको तथा कम्तीमा प्लस टु उत्तीर्ण गर्नुका साथै १० वटा कृषक पाठशाला सञ्चालन गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । 

मुख्य प्रशिक्षक हुनका लागि कृषि विज्ञानमा स्नातकोत्तर पूरा गरी बाली संरक्षण विधामा कम्तीमा अधिकृतस्तरमा काम गरेको र बाली उपचार शिविर प्रशिक्षण मोडयुहरूको प्रशिक्षक प्रशिक्षण प्राप्त गरेको हनुपर्ने हुन्छ । 

नेपालमा बाली उपचार शिविर सञ्चालन नभएको होइन । सन् २००८ देखि शिविर सञ्चालन गरी किसानलाई सेवा दिँदै आएको हो । सरकारी तहमा सन् २०११ मा तत्कालीन बाली संरक्षण निर्देशनालय र क्याब इन्टरनेसनलबिच औपचारिक सम्झौता भई प्लान्ट वाइज कार्यक्रम अन्तर्गत बाली उपचार शिविर कार्यक्रम सञ्चालन भएको थियो । 

कार्यक्रमको सञ्चालन प्रक्रिया, तथ्याङ्कको व्यवस्थापन, कृषि प्रविधि प्रसार सामग्री निर्माणलगायतका कार्यका लागि नीति तथा कानुनी व्यवस्था थिएन । यो कार्यविधिले उपचार शिविर नीतिगत रूपमा सञ्चालन हुने महानिर्देशक केसीले बताउनुभयो ।