• १२ साउन २०८१, शनिबार

दुई सय १० कृषकलाई मिनिटिलर वितरण

blog

मिनिटिलर । फाइल तस्बिर

चौतारा (सिन्धुपाल्चोक), जेठ १९ गते । सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ । कूल २८ हजार आठ सयमध्ये पालिकाले उक्त रकमको ५० प्रतिशत १४ हजार चार सय उपलब्ध गराएको हो ।  

कृषकले १४ हजार चार सय पालिकाको खातामा जम्मा गराएपछि कृषकलाई मिनिटिलर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले मिनिटिलर खरिद गर्न विद्युतीय प्रणालीमार्फत ‘इ–बिडिङ’ (बोलपत्र आह्वान) गरेको थियो । सबैभन्दा कम रकममा उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालिलाई मिनिटिलर खरिद गर्न दिने पालिकाले निर्णय गरेको थियो ।

बजारमा न्यूनतम ४० देखि ५० हजारसम्म पर्ने मिनिटिलर पालिकासँगको सहकार्यमा १४ हजार दुई सयमा पाउँदा उत्साहित भएको सुनकोशी-१ का कृषक प्रेमप्रसाद न्यौपानेले बताउनुभयो । यस वर्ष पालिकाले समूहलाई पहिलो प्राथमिकतामा राखेर मिनिटिलर अनुदानमा दिने भनेकामा समूह बाहिरबाट पनि माग आएकाले आवेदन दिने सबैलाई उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताउनुभयो । रासस