नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचय गराउने दुई प्रमुख स्थलमध्ये पहिलो स्थल विश्वको सर्वोच्च शिखर सगरमाथा हो भने दोस्रो हो, विश्वशान्तिका महान् अग्रदूत भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्र । भगवान् बुद्ध लुम्बिनीमा जन्मेकाले पनि नेपाल विश्व परिचित छ । हिन्दु धर्मावलम्बीका लागि काशी, मुसलमानका लागि मक्का मदिना र ख्रिस्टहरूका लागि जेरुसेलमले जुन स्थान ओगटेको छ, त्यस्तै बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी क्षेत्र महत्त्वपूर्ण रहेको छ । बुद्धको जन्मस्थान लुम्बिनी भएकाले लुम्बिनी बौद्ध तीर्थस्थलका रूपमा विश्वमा चिरपरिचित छ ।
लुम्बिनी भगवान् बुद्ध सिद्धार्थ राजकुमारको जन्म भएको पवित्र स्थल हो । लुम्बिनी एउटा रमणीय, सुन्दर, राम्रो उपवनको नामले प्रसिद्ध छ । बुद्धत्व प्राप्त भएपछि बुद्ध स्वयंको धर्मदेशनाका सिलसिलामा लुम्बिनीमा आगमन भएको थियो । त्यसैबेलादेखि लुम्बिनीको महिमा बढ्दै गएको छ । यस्तै सम्राट् अशोकबाट अशोक शिलास्तम्भ स्थापना गरी भगवान् बुद्ध सिद्धार्थको जन्मस्थलमा अशोक चैत्य बनाई एक लाख सुवर्ण मुद्रा चढाएको इतिहास छ ।
लुम्बिनी कपिलवस्तुको तीर्थयात्रामा आएका सुप्रसिद्ध चिनियाँ यात्री हुयानसाङले आफ्नो यात्रा वर्णन (इसं ६२९–६४४) मा नेपालमा बौद्ध विहार रहेको उल्लेख गरेका छन् । यस्तै कपिलवस्तुको यात्रा गर्न आएका अर्का यात्री फाहियानले (इसं ३९९–४१३) पनि लुम्बिनी यात्रा गरेका थिए । यस्तै लुम्बिनी दर्शन गर्न अर्का यात्री इत्सिङ पनि नेपाल आएका थिए । धार्मिक पवित्र स्थान भएकाले १२ औँ देखि १४ औँ शताब्दीका पश्चिम नेपालका प्रतापी खस मल्ल राजाहरू जितारी मल्ल, रिपु मल्ल, आनन्द मल्ल आदिले पनि यहाँको भ्रमण गरेको पाइन्छ ।
बौद्ध धर्मावलम्बीका लागि अति महत्वपूर्ण तीर्थस्थलका रूपमा रहेको लुम्बिनी क्षेत्र भने कैयौँ शताब्दीसम्म उपेक्षित क्षेत्रका रूपमा रहेको थियो । पछि जर्मनीका सुप्रसिद्ध पुरातत्त्वविद् ए. फुहररले सन् १८९५ डिसेम्बर १ मा लुम्बिनी नै भगवान् बुद्धको जन्मथलो भनी पत्ता लगाउनुभयो । यस्तै सन् १९५४ मा सर्वप्रथम वर्मामा भएको तेस्रो अन्तर्राष्ट्रिय विश्व बौद्ध भ्रातृत्व सङ्घको अधिवेशनमा राजा त्रिभुवनको सदिच्छा अनुसार विश्व भ्रातृत्व सङ्घको चतुर्थ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने प्रस्तावलाई स्वीकृत गरिएपछि लुम्बिनीमा विकासको चहलपहल हुन थाल्यो । सन् १९५६ मा नेपालमा चतुर्थ विश्व बौद्ध सम्मेलनको आयोजना भव्य रूपमा भएपश्चात् लुम्बिनी क्षेत्रको विकासमा राज्यको दृष्टि पर्न थाल्यो । यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव उ थान्त उपेक्षित अवस्थामा रहेकोमा लुम्बिनी पुग्दा यस क्षेत्रको विकासका लागि उहाँको ध्यान पुग्न गयो । त्यसपछि उहाँले लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा विश्वको महìवपूर्ण पर्यटन केन्द्रका रूपमा विकास गर्न प्राविधिक सहयोग प्रदान होस् भनी संयुक्त राष्ट्रसङ्घलाई आह्वान गर्नुभयो ।
महामहिम उ थान्तको आह्वानमा राष्ट्रसङ्घले सन् १९७० को फरवरीमा संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधिको अध्यक्षतामा १३ राष्ट्रका सदस्यहरू सम्मिलित लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन ग¥यो । सोही सालमा राष्ट्रसङ्घले लुम्बिनी क्षेत्रको विकासका लागि गुरुयोजना तयार पार्ने काम विश्वविख्यात जापानी वास्तुविद् प्राध्यापक केन्जोटाङ्गेलाई सुम्पियो । लुम्बिनी गुरुयोजना अन्तर्गत विभिन्न देशका विहार निर्माण गरियो । यहाँ अन्तर्राष्ट्रिय विहार क्षेत्रमा विभिन्न बौद्ध देश र बौद्ध संस्थाहरूले प्राप्त गरेका जग्गामा आआफ्ना देशको बौद्ध संस्कृति, कला अनुसार विशाल भव्य र सुन्दर धैरै विहार निकै आकर्षक केन्द्रका रूपमा निर्माण भइसकेका छन् । लुम्बिनी गुरुयोजना अनुसार पहिले पवित्र उद्यान क्षेत्रपछि दोस्रो अन्तर्राष्ट्रिय विहार क्षेत्र र तेस्रोमा लुम्बिनी ग्राम क्षेत्र गरी तीन क्षेत्रमा विभाजन गरी विभिन्न विहार निर्र्माण गरिएका छन् ।
लुम्बिनी दर्शनार्थ ऐतिहासिक भ्रमणका सिलसिलामा राष्ट्रसङ्घका महासचिवहरू उ थान्त, कुर्तवाल्ड हायम, हावियास दी कोयार र बान की मुन, एन्टोनिओ गुटेर्रेस आदिले नेपाल र लुम्बिनी भ्रमण गर्नुभएको थियो । यस्तै विभिन्न मुलुकका राष्ट्रप्रमुख, श्रीलङ्काका तत्कालीन राष्ट्रपतिहरू श्री जयवर्धन, प्रेमदासा, प्रधानमन्त्री वन्दरानायके, थाइल्यान्डका युवराज वजिरलङ्कर, जापानका युवराज नारुहितो आदिले लुम्बिनी भ्रमण गर्नुभएको थियो । २५६६ औँ बुद्ध जयन्ती र लुम्बिनी दिवस २०७९ का अवसरमा बुद्ध जन्मभूमि लुम्बिनीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण भएको थियो । त्यसबेला इन्टरनेसनल बुद्धिस्ट कन्फेरेन्स एन्ड मेडिटेसन हलको समुद्घाटन पनि उहाँले गर्नुभएको थियो ।
बुद्धको जन्मस्थल लुम्बिनी विश्वका सम्पूर्ण बौद्धको पावन तीर्थस्थल भएकाले मुख्य गरेर दक्षिणपूर्वी एसियाली देशबाट बर्सेनि लाखौँ बौद्ध तीर्थयात्री लुम्बिनी दर्शनार्थ आउने गर्छन् । यस्तै एक अर्ब ४० करोड जनसङ्ख्या भएको चीन र एक अर्ब २५ करोड जनसङ्ख्या भएको भारत यी दुई विशाल देशबाट बुद्ध जन्मेको देशको नाताले नेपाल भ्रमण गरिदिएमा लुम्बिनीमा बौद्ध पर्यटनको विकासको सम्भावना प्रचुर मात्रामा हुने छ । हाल लुम्बिनीमा बौद्ध तीर्थस्थल र पुरातात्त्विक स्थलहरू दर्शन र भ्रमण गर्न तीर्थयात्री तथा पर्यटकका रूपमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो बढ्न थालेको छ ।
देशको आर्थिक समृद्धिमा लुम्बिनी क्षेत्र मेरुदण्डका रूपमा रहेको छ । लुम्बिनी विश्वभरका लागि ध्यानाकर्षण हुनुका मूल कारणमा यो विश्वभरका तीर्थयात्री र पर्यटक ओइरिनुले मात्र होइन, मानव मात्रका लागि यो स्थल ध्यान, आध्यात्मिक पुनर्जागरण, सांस्कृतिक आदानप्रदान र शान्तिको केन्द्र रहेकाले पनि हो । आज विश्वमा रहेका दुई अर्ब बौद्धलाई सहज रूपमा लुम्बिनीसम्म पुग्न आवश्यक व्यवस्था गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा ठुलो विकास हुने छ । यसका लागि लुम्बिनीको ऐतिहासिक महत्त्वलाई विश्वसामु राम्ररी उजागर गरेर प्रचारप्रसार गरी पहिचान दिनु अति आवश्यक छ ।
यहाँ विभिन्न पर्यटकीय स्थल छन् । तीमध्ये एक लुम्बिनी वन पनि एक हो । लुम्बिनी भन्नासाथै त्यस स्थानमा भगवान् बुद्ध सिद्धार्थ राजकुमारको जन्म भएको पवित्र जन्मस्थललाई जनाउँछ । लुम्बिनी एउटा रमणीय, सुन्दर, राम्रो उपवनको नामले प्रसिद्ध छ । सिद्धार्थ जन्म स्मारकका रूपमा पहिचान दिन पवित्र मायादेवीको मन्दिर छ । यस मायादेवीको मूर्ति जातक अट्टकथा अनुसार दसमासको गर्भ पूर्ण भएको अवसरमा मायादेवी माइती जान लागेका बेला बाटोमै प्रसव व्यथा भई सिद्धार्थको जन्म भएको ठाउँ हो । मायादेवीको दायाँतिर तिनको घुँडासम्म आउने उँचाको सानो प्रतिमा शिशु सिद्धार्थ हो । यस्तै सिद्धार्थ जन्मनासाथ सात पाइला टेकेको पादतलाको चिह्न भएको ढुङ्गा पनि छ । अर्को मूर्ति महामाया देवीतिर आफ्नो हात पसारेर केही लिन चाहिरहेको ब्रह्माको मूर्ति पनि छ ।
लुम्बिनीको अर्को महìवपूर्ण ऐतिहासिक तथा पुरातात्त्विक धरोहर भनेको अशोक स्तम्भ हो । भारतका सम्राट् अशोकले आजभन्दा २३ सय वर्षअघि लुम्बिनी अवलोकन गरी सम्झनाका लागि एउटा स्तम्भ गाडेका थिए । यस स्तम्भले बुद्ध लुम्बिनीमै जन्मिएको कुरा सदासर्वदा सम्झना गराउँछ । यस स्तम्भमा शाक्यमुनि बुद्ध यही लुम्बिनीमा जन्मेका हुन् भनी प्राचीन ब्राह्मी लिपि ‘हिद भगवं जाते ति लुमिनि गामे’ मा प्रस्टसाथ कुँदिएकाले पनि बुद्ध लुम्बिनीमै जन्मेका हुन् भन्ने अकाट्य प्रमाण छ । यस्तै अशोक चैत्य बनाई एक लाख सुवर्ण मुद्रा चढाएको इतिहासमा वर्णन छ ।
यहाँ विहार क्षेत्र भनी विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विहारहरू निर्माणका लागि भूभाग छुट्याइएको छ । विभिन्न विहारध्ये थेरवादी विहारमा श्रीलङ्का महाविहार, म्यानमारको लोकामनी सुला पैगाडा (श्वँेडाøगो नमुनामा), रायल थाई मोनोस्टी, कम्बोडियाको विहार, यस्तै महायानी विहारहरूमा चीन, जापान, कोरिया, भियतनाम, ताइवान, मङ्गोलिया आदि मुलुकका विहार छन् । भारतको महाबोधि सोसाइटी विहार रहेको छ । युरोपेली मुलुकको पे्रmन्च बुद्धिस्ट विहार, जर्मनीको तारा फाउन्डेसन विहार निर्माण भइसकेको छ । यस्तै नेपाली विहारहरूमा नेपाल राजकीय बुद्ध विहार, धर्मोदय सभाको विहार, महाबोधि विहार, महायानी गुम्बा, मनाङ समाज स्तूपा, गौतमी भिक्षुणी विहार र लुम्बिनी वज्रयान महाविहार छन् । हाल रुसबाट पनि विहार निर्माण सुरु गरिएको छ । लुम्बिनी ग्राममा शान्तिदीप, पण्डिताराम, लुम्बिनी अन्तर्राष्ट्रिय विपश्यना केन्द्र, शान्तिघण्टा, लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, सङ्ग्रहालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यालय, पुस्तकालय आदि छन् । लुम्बिनीमा अन्य ऐतिहासिक, धार्मिक पुरातात्त्विक स्थानहरू पनि धेरै छन् । कपिलवस्तु, तिलौराकोट, अरौराकोट, सगरहवा गोटिहवा, कुडान, देवदह, रामग्राम स्तूप, निग्रोधाग्राम आदि हुन् ।