• १२ मंसिर २०८१, बुधबार

प्राकृतिक सन्तुलनको पर्याय

blog

एक जना मित्रले सोध्नुभयो, “कछुवा किन चाहियो, कछुवा सबै मासिए पनि हामीलाई के फरक पर्छ ?” यो एउटा प्रतिनिधि प्रश्न हो । अरू जीवका विषयमा पनि यस्तो प्रश्न आउँछ । एक पटक मलाई जागिरका लागि लिइएको मौखिक परीक्षामा प्रश्न गरियो, “झिँगालाई नास गरिदिए के होला ?” त्यस्तै पदमै बसेका एक व्यक्तिले भन्नुभयो, “मच्छडले तराईमा साह्रै दुःख दियो, यसलाई सखाप पार्ने कुनै तरिका छ ?” यी सबै प्रश्नलाई मैले एउटै उत्तर दिएँ, “कुनै जीवको अस्तित्व नामेट पारेमा प्रकृतिको सन्तुलन बिग्रिन्छ, जसको सबैभन्दा बढी प्रभाव मानिसमा पर्छ ।”

अरू जीवको उसै सन्दर्भमा कुरा होला । यस लेखमा कछुवाका विषयमा चर्चा गरिँदै छ । यो पृथ्वीमा जति पनि जीवजन्तु छन् ती सबै महत्वपूर्ण छन् । किनकि ती सबैले आफ्नो जीवन जिउने क्रममा आआफ्नो ठाउँमा रहेर प्रकृतिलाई सन्तुलित राख्नका लागि भूमिका खेलेका हुन्छन् । झिँगा, साङ्ला, लामखुट्टे, सर्प या कछुवा सबैले । कुनै जीव सङ्ख्यामा अधिक हुन्छन्, तिनको सङ्ख्या नियन्त्रण गरियो भने खास असर प्रकृतिमा नपर्ला तर जुन थोरै सङ्ख्यामा छन् भने उनीहरूको भूमिका झन् धेरै र ठुलो हुन्छ । त्यसमा पनि नासिने क्रममा छन् भने त सर्वश्रेष्ठ जीव मानिसले त्यसको संरक्षणमा चासो दिनु पर्छ । मानिस नै प्रकृति र प्राकृतिक स्रोतको सबैभन्दा ठुलो उपभोक्ता हो । कछुवा थोरै छन् । त्यस कारण यिनको भूमिका धेरै महìवपूर्ण छ । 

पूर्वी माडागास्करको मास्कारिन टापुबाट धेरै वर्षअघि एलदाब्रा जातको कछुवा लोप भएर गयो । त्यसको तुरुन्तै अर्को वर्षदेखि असर देखिन थाल्यो कि जलीय वनस्पति र प्राणीको सङ्ख्या र जीवन पद्धतिमा नराम्रो असर प¥यो । पारिस्थितिक प्रणाली (इकोसिस्टम) असन्तुलन भयो । माटोमा बस्ने धेरै सूक्ष्म मित्रजीव मासिए । परिणामस्वरूप वनस्पतिले उत्पादन पर्याप्त दिन सकेनन् । अनि ती वनस्पतिमा आश्रित प्राणी भोकभोकै पर्न थाले । ती प्राणी विचलित भएपछि अनुसन्धानले थाहा लाग्यो, कछुवा मासिएका कारण यस्तो भयो । 

दक्षिण अमेरिका र मेक्सिकोतिर पाइने अर्को एजासिज डेजर्ट टटल भनिने कछुवालाई क्याल्सियम तत्वको खानी मानिन्थ्यो । यसको सङ्ख्यामा कुनै समयमा धेरै घट्यो । फलस्वरूप त्यहाँको प्राकृतिक प्रणालीमा क्याल्सियमको कमी भयो । इकोसिस्टम क्षतविक्षत भयो । ठुला जातका कछुवा समुद्रमा पाइन्छन् । समुद्र पिँधमा, किनारमा यिनीहरूका क्रियाकलापले गर्दा माटोको उर्वरा शक्ति बढ्ने र सामुद्रिक घाँस राम्ररी फस्टाउने गर्छ । घाँस फस्टाएपछि घाँसमा आश्रित जनावरको सङ्ख्या र गुणस्तरमा वृद्धि हुन जान्छ । धेरै सामुद्रिक इकोसिस्टममा कछुवाको सङ्ख्या कमी भएर वा लोप भएर घाँस नउम्रिने, नहुर्किने समस्या आएर प्राकृतिक असन्तुलन भएका प्रमाण छन् । यी अनुसन्धान भएका र बाहिर आएका उदाहरण मात्र हुन् । यस्ता उदाहरण यो धरामा सयौँ हुन सक्छन् । यद्यपि अन्वेषण भएर बाहिर आउन सकेका छैनन् । हाम्रै नेपालबाट कति कछुवा लोप भई गए होला, हिसाबकिताब छैन । यसको परिणाम के भोगिरहेका छौँ, यसको पनि जानकारी छैन । 

कछुवा जहाँ बस्छ, यसको गतिविधिले त्यहाँको माटोमा खनिज तत्व चक्र राम्रोसँग गराउँछ । जति खनिज तत्वको चक्रण सजीव र निर्जीव वातावरणको बिचमा भयो, त्यहाँ जैविक विविधता मौलाउँछ र इकोसिस्टम बलियो हुन्छ । कछुवा अरू जीवभन्दा किन महत्वपूर्ण छ भने खाद्य चक्रमा यसको स्थान तीनै तहका उपभोक्ता (प्राथमिक, द्वितीय र तृतीय) मा सुनिश्चित छ । मानिसको जस्तै । अरू साना जन्तुहरूलाई खाएर, अनावश्यक जनसङ्ख्यालाई नियन्त्रण गरेर प्रकृतिलाई योगदान दिइरहेको हुन्छ । लियोपार्ड टटल भनिने एक कछुवाको दिसा अनुसन्धान गर्दा उसको बासस्थानमा पाइने ७५ प्रतिशत वनस्पति यसले खाएको पाइयो । त्यसमा पनि मिचाहा प्रजातिका वनस्पति थिए । यसबाट के स्पष्ट हुन्छ भने कछुवाले अन्यत्र स्थानबाट फैलँदै स्थानीयलाई असर पु¥याउँदै आएका वनस्पतिलाई नियन्त्रण गर्ने काम गरेको रहेछ । 

अहिलेको वैज्ञानिक जगत्, प्रकृति रक्षार्थ स्थापित संस्थाले प्रकृतिको पुनस्र्थापनामा जोड दिइरहेका छन् । प्रकृतिसँग जोडिएका दिवसहरूको नारा पछिल्ला वर्षमा यस्तैमा केन्द्रित देखिन्छ । यसबाट बुझिन्छ कि हाम्रो प्रकृतिको प्राकृतिक स्वरूप निकै बिग्रिएको छ र यसलाई ओरिजिनल (पुरानै) अवस्थामा ल्याउनु पर्ने आवश्यकता छ । हो, मानिस त केही वर्षदेखि चाल पाएर अभियानमा जुट्यो तर कछुवाले उत्पत्तिकालदेखि नै यही प्रयास गरिरहेको छ । प्रकृतिलाई खास रूपमै राखिराख्न सधैँ लागिपरेको छ । यसले माटोमा हुने जैविक तथा अजैविक संसार, पानीको गुणस्तर, वनस्पतिको वृद्धि तथा अनावश्यक जीवलाई नियन्त्रणको काम निरन्तर गरिरहेको छ । प्रकृतिको पुनस्र्थापनामा कछुवाको भूमिकाले छिटो काम गर्छ भन्ने कुरा वैज्ञानिकले पत्ता लगाएपछि थप स्थानमा अनुसन्धान हुँदै आए । हन्टर र गिब्स नामका अनुसन्धाताद्वारा एक विज्ञान पत्रिकामा छापिएको लेख अनुसार इक्वेडरको ग्यालापागोस टापुमा यस्तो पाइयो कि त्यहाँको बिग्रिसकेको इकोसिस्टम, वनजङ्गल कछुवाको भूमिकाकाबाट पुनस्र्थापित भयो । 

यस पृथ्वीमा भएका जनावरमध्ये सबैभन्दा धेरै जीवपिण्ड (बायोमास) हुनेमध्येको एक हो कछुवा । यो मरेर माटोमा मिल्दा पनि धेरै खनिज तत्वहरू प्रकृतिमा फर्कन्छन् । यसले प्रकृतिलाई दिने अर्को ठुलो योगदान भनेको अण्डा हो । एक पोथी कछुवाले एक पटकमा करिब एक सय वटासम्म अण्डा पार्छ । ती सबैबाट बच्चा कोरल्न सक्दैन । ती अण्डा खाएर धेरै जनावरले पौष्टिकताको पूर्ति गरिरहेका हुन्छन् । अण्डा कुहिए भने पनि माटोमा ठुलो मात्रामा क्याल्सियमलगायतका पौष्टिक तत्व जान्छन्, जसले वनस्पतिको वृद्धिविकासमा सहयोग गर्छ । 

नेपालका धेरै जसो सिमसार क्षेत्र, जङ्गली क्षेत्रमा कछुवाको बासस्थान छ । खेती गरिने जमिनमा पनि पाइन्छ । यी सबै स्थानमा माथि उल्लेख गरिए झैँ तरिकाबाट इकोसिस्टमलाई नियमितता दिइरहेको हुन्छ । नेपालमा हाल रोडिनलगायतका अनुसन्धानकर्ताले तीन परिवारका ११ जातिका १८ प्रजाति कछुवा छन् भनेर उल्लेख गरेका छन् । यसअघि सन् २०१३ मा डा. कालुराम राई तथा जर्मनीका प्रिसिद्ध हर्पेटोलोजिस्ट यास्ले र हर्मन स्लाइखले २० प्रजातिका कछुवा पाइने एक पुस्तकमा लेखेका छन् । जसमा अधिकांश सङ्कटापन्न, अति सङ्कटापन्न र केही चाहिँ वर्षौंदेखि नदेखिएका तर लोप भएको घोषणा हुन बाँकी अन्तर्गत पर्छन् । डा.राईलगायतले लेखेको ‘फिल्ड गाइड टु एम्फिबियन एन्ड रेप्टायल्स अफ नेपाल’ पुस्तक अनुसार रङ्गीन छाने कछुवाका तीन प्रजाति, काली कण्ठेको एक, थोप्लेको एक, बाहुने खोलेका दुई, कालो पानी कछुवाको एक, बलढ्याङ्ग्रे कछुवाको एक प्रजाति नेपालमा पाइन्छन् । त्यस्तै यहाँ पहेँलो भुँडे धुरी कछुवाको एक, पहेँलो खुट्टे छाने कछुवाको एक, खैरे धुरीको एक, भारतीय धुरीको एक, गुलाबी कण्ठेको एक, सुन कछुवा एक, नरम खबटेका तीन, ढकनी खबटेको एक र मुजुरपङ्खी कछुवाको एक प्रजाति बसोबास गर्छन् । 

विश्वमा करिब ३६० प्रजातिका कछुवा पाइन्छन् । यसको ६१ प्रतिशतको अवस्था त्रसित तथा चुनौतीपूर्ण छ । उनीहरू सङ्कटग्रस्त छन् । पृथ्वीबाट लोप भएर गएको भीमकाय जीव डाइनोसरसँगै आजभन्दा करिब दुई करोड ६० लाख वर्षअघि कछुवा अस्तित्वमा आएको हो । स्मरणीय छ कि वर्तमानमा पनि सबैभन्दा लामो आयु भएको जनावर यो नै हो (औसतमा १५० वर्षमाथि) । यसको अर्थ यो जन्तु पृथ्वीमा भएका अनेक प्रतिकूलतामा अनुकूलता खोज्दै र अनुकूलित हुँदै आएको छ । चाल्स डार्बिनको सक्षम नै बाँच्ने वा प्रकृतिको छनोट भन्ने सिद्धान्त अनुसार व्याख्या गर्न सकिने प्रकृतिको छनोटमा परेको कछुवा आज किन सङ्कटको घडीमा आइपुग्यो ? यो विचारणीय, सोचनीय विषय छ । साँच्चै पृथ्वीको वातावरण असाध्यै ग्रसित, असन्तुलित र विषम अवस्थामा आएको हो ? निकै विषमतामा समेत अस्तित्व जोगाउँदै आएको यो वातावरणको सूचक जन्तुले के पृथ्वीको इकोसिस्टम सङ्कटग्रस्त भयो भन्ने सङ्केत दिइरहेको हो कि ! 

यस कारण कछुवाको बासस्थानको उपयुक्तता, आहारविहार, प्रजनन, आजको अवस्था आदि विषयमा ढिलो नगरी अनुसन्धान गर्न गराउन आवश्यक छ । तुरुन्तै यसलाई संरक्षण गर्ने अभियानहरू चलाउनु पर्छ । त्यसका लागि ठुलो धनराशि चाहिँदैन, खालि सोच र लगनशिलता पहिले चाहिन्छ । स्थानीय मानिसलाई यसबारे चेतना जगाएर संरक्षणमा प्रेरित गरेमा केही उपलब्धि तत्कालै हात लाग्न सक्छ, दीर्घकालीन योजनाहरू पनि कार्यान्वयन गर्दै जानु पर्छ ।

  

Author

रामचन्द्र अधिकारी