मुलुकमा बढ्दो बेरोजगारी समस्या समाधामा सरकारले एकपछि अर्को योजना अघि सार्दै आएको भए पनि उद्देश्य अनुरूपको उपलब्धि भने हासिल हुन सकिरहेको छैन । मुलुकभित्र उद्योग, कलकारखानाको कमी, स्वपुँजी लगानी तथा स्वरोजगार क्षमताको अभाव एवं सिपमूलक दक्षताको अभावका कारण बेरोजगारी चुनौती भएको छ । एक मात्र विकल्प वैदेशिक रोजगारी समस्याको दीर्घकालीन समाधान पनि होइन । बिनासिप र दक्षता वैदेशिक रोजगारीमा जानेले भोग्नु परेका समस्या, असुरक्षा तथा आर्थिक शोषणका घटना हृदयविदारक छन् । त्यसो त मुलुकको अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको विप्रेषण आप्रवाहका कारण सरकारले वैदेशिक रोजगारीलाई प्राथमिकतामा राखेको अनुभव नभएको होइन । यथार्थमा चाहिँ यो भनेको बाध्यताको उपज मात्रै हो । यसै भएर नै श्रमशक्तिलाई स्वदेशमै खपत गर्ने गरी रोजगारी सिर्जना तथा उत्पादनमूलक कार्यमा लगाउन सरकारले विभिन्न योजना अगाडि सार्दै आएको विदित हुन्छ । यस्तै योजनामध्ये पछिल्लो पटक श्रमाधान रोजगार मेला प्रारम्भ गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारमार्फत सहयोग पु¥याउने उद्देश्य अनुरूप श्रमाधान योजना मुलुकका सातै प्रदेशमा सञ्चालन गरिन लागिएको हो ।
रोजगारदाताले आफूलाई आवश्यक परेको जनशक्ति नपाउने र बेरोजगारले सिपको अभावमा काम नपाएर भौँतारिनु परिरहेको विडम्बना विद्यमान छ । जसले गर्दा सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एउटै थलोमा साक्षात्कार गराउने उद्देश्यले प्रारम्भ गरिएको श्रमाधान रोजगार मेलाको प्रदेशस्तरीय उद्घाटन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशको विराटनगरबाट गर्नुभएको छ । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्य अनुरूप १७ गतेदेखि प्रारम्भ भएर ३० गते समापन गरिने मेला प्रत्येक प्रदेशमा दुई/दुई दिनका चल्ने गरी व्यवस्थापन कार्य पूरा गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको छ । जस अनुसार कोशी प्रदेशको विराटनगरमा १७ देखि १८ गतेसम्म, मधेश प्रदेशको वीरगन्जमा १९ देखि २० गतेसम्म, गण्डकी प्रदेशको पोखरामा २१ देखि २२ गतेसम्म, लुम्बिनी प्रदेशको बुटवलमा २३ देखि २४ गतेसम्म, कर्णाली प्रदेशको सुर्खेतमा २५ देखि २६ गतेसम्म, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ देखि २८ गतेसम्म र बागमती प्रदेशको ललितपुरमा २९ देखि ३० गतेसम्म सञ्चालन गरिने तयारी भइरहेको छ । मन्त्रालयका अनुसार यस प्रकारको कार्यक्रमले रोजगारी खोज्ने र रोजगारदाता उद्योग/प्रतिष्ठानको यथार्थ तथ्याङ्क सङ्कलन हुने अपेक्षा राखिएको छ । यसै आधारमा अर्को वर्ष बजारको माग र नागरिकको चाहना अनुसारको तालिम सञ्चालन गरेर स्वदेशी कम्पनीमा रोजगारी सिर्जना र स्वरोजगार बनाउने दीर्घकालीन योजनामा सघाउ पु¥याउने सरकारको योजनालाई सकारात्मक रूपमा लिइएको छ ।
श्रमाधान मेलामा सहभागी हुन चाहनेका लागि मन्त्रालयले अनलाइनमार्फत स्टल बुकिङ सुविधा दिएर सहज बनाएको छ । निजी र साझेदारी क्षेत्र बढाएर लैजाने सिप विकास, आन्तरिक र वैदेशिक रोजगारीमा गुनासो, चासो, सुझाव सङ्कलन गर्ने र त्यसको समाधानमा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोषका बुथमार्फत तत्काल समाधान खोजिने भएको छ । कसरी निजी क्षेत्रसँग मिलेर रोजगारी सिर्जना गर्न र आन्तरिक रोजगारीलाई बढावा दिन सकिन्छ भन्नेमा नै श्रमाधान केन्द्रित रहेको छ । पहिलो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले १३५ औँ विश्व मजदुर दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका निम्ति श्रमाधान अभियान सुरु गर्नुभएको स्मरणीय छ । हालको ११ प्रतिशतको बेरोजगारी दरलाई घटाएर पाँच प्रतिशतमा सीमित गर्ने १६ औँ योजनाको लक्ष्य छ । यस योजनाले अबको १५ वर्षमा बाध्यात्मक रूपमा विदेश जानुपर्ने स्थिति अन्त्य गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरेको छ । प्रदेश हुँदै आगामी वर्षदेखि जिल्ला एवं स्थानीय तहसम्मै पुग्ने मन्त्रालयले रणनीति तय गरेकाले युवामा उत्साह वृद्धि हुने अपेक्षा छ ।
मन्त्रालयको श्रमाधान योजनामा वैदेशिक रोजगारीबाट फर्केका तथा स्वदेशमै अवकाश प्राप्त नागरिकको सिप, श्रम र अनुभवलाई पुनः सक्रिय बनाउने उपाय खोजी गरिएको हो । विविधतामा एकता, समतामूलक श्रम, श्रम कानुनसम्बन्धी ज्ञान, भविष्यका लागि तयारी, कार्यस्थलमा हुने तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र सांस्कृतिक समय, श्रमिक र श्रमिक परिवारको मानसिक स्वास्थ्य समस्या समाधान एवं समस्याहरूको तत्काल सम्बोधन गर्ने गरी कल सेन्टरको व्यवस्थासहित श्रमाधान योजना अगाडि सारिएको व्यवस्थापन पक्षको भनाइ छ । रोजगारदाता र रोजगारी खोज्नेबिचका बहुआयामिक पक्ष समेटेर रोजगार बैङ्कका रूपमा विकास गर्ने सरकारको योजनालाई नागरिक तहमा उत्साहसाथ हेरिएको छ ।