• ९ मंसिर २०८१, आइतबार

कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १७ गते । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो । 

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिनुभयो । “कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ । अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ”, उहाँले भन्नुभयो, “महामारी भइसकेपछि पनि सधैँ तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । अहिले नयाँ भेरियन्ट पनि देखिएको छ । त्यसैले खोप ल्याउन थालेका हौँ ।”

अहिले स्वास्थ्य विभागसँगै एक लाख मात्रा मात्र खोप मौज्दात छ । उहाँले छ-छ महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखिएको र खोप ल्याउने पहिलेको तयारी रहेको बताउनुभयो । उहाँका अनुसार ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले फाइजरको ‘मनोभ्यालेन्ट’ खोप अनुदानमा उपलब्ध गराउनेछ । अहिले पनि विदेश जाने, ज्येष्ठ नागरिक र दीर्घरोगीले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउने गर्दछन् । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ । रासस