• ९ मंसिर २०८१, आइतबार

सुदृढ स्वास्थ्य प्रणाली निर्माणमा नेपालको जोड

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव । फाइल तस्बिर

काठमाडौँ, जेठ १६ गते । नेपालले सुदृढ स्वास्थ्य प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदाय एवम् सहायता निकायको भूमिका महत्त्वपूर्ण हुने बताएको छ । जेनेभामा जारी ७७औँ विश्व स्वास्थ्य महासभालाई मङ्गलबार सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले महामारी नियन्त्रण, पूर्वतयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड पनि सुदृढ स्वास्थ्य प्रणाली निर्माणमा उपयोगी हुने बताउनुभएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ । 

मन्त्री यादवले बितेका दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका प्रगतिबारे जानकारी दिँदै विभिन्न खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकामा सन्तोष व्यक्त गर्नुभयो । यद्यपि उहाँले असमान स्वास्थ्य सेवा तथा सुविधाप्रति चिन्ता व्यक्त गर्दै त्यो अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । नेपालको स्वास्थ्य क्षेत्रको सुधारका निम्ति अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय निकायसँग सहकार्य एवम् साझेदारी गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले ७६ वर्षदेखि विश्ववासीको स्वास्थ्यका निम्ति विश्व स्वास्थ्य सङ्गठन, सङ्गठनका महानिर्देशक तथा कर्मचारीले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्नुभयो ।

‘सबैका लागि स्वास्थ्य, सबै स्वास्थ्यका लागि’ शीर्षकमा सङ्गठनले आयोजना गरेको महासभामा नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव सहभागी हुनुहुन्छ । प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपालका स्थायी प्रतिनिधि एवम् राजदूत रामप्रसाद सुवेदी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारी सहभागी हुनुहुन्छ । रासस