रामल्लाह (प्यालेस्टिन), जेठ १५ गते । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ् पुनः खोल्ने काम गर्ने तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
राष्ट्रपतिले प्यालेस्टिनी पक्ष सन् २००५ मा क्रसिङकाे व्यवस्थापनका लागि हस्ताक्षर गरिएको सम्झौताअन्तर्गत रफाह क्रसिङ् पुनः खोल्न तयार रहेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले जनाएको छ ।
युरोपियन युनियन (ईयू)को विदेश नीति प्रमुख, जोसेप बोरेलको बयानको प्रतिक्रियामा ईयूले रफाहमा आफ्नो सीमा सहायता मिसन पुनः सक्रिय गर्न सहमत भएको घोषणा गरेको थियो ।
बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा सीमा मिसनको पुनःउत्थानका लागि इजिप्ट, प्यालेस्टाइन र इजरायलको समर्थन आवश्यक पर्ने बताउनुभएको छ ।
इजरायली सेनाले गाजा नियन्त्रणमा लिएदेखि गाजामा सहायताका लागि मुख्य प्रवेश बिन्दु रफाह क्रसिङ् लगभग तीन हप्तादेखि बन्द भएको समयमा बोरेलको यस्तो बयान आएको हो ।
युरोपेली सङ्घद्वारा सन् २००५ मा रफाहमा तैनाथ गरिएको सीमा सहायता मिसनले प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनद्वारा गाजा नियन्त्रण गरेपछि सन् २००७ देखि स्थगित गरेको थियो । रासस/सिन्ह्वा