• १२ साउन २०८१, शनिबार

गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना

blog

सुर्खेत, जेठ १५ गते ।  सत्रौँ गणतन्त्र दिवसका अवसरमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा नेपाली जनताले विजय प्राप्त गरेको यस अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजप्रति सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलनमा सहभागी आम जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसासमेत गर्नुभयो ।

जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन रहेको मुख्यमन्त्री कँडेलको भनाइ रहेको छ । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सवका रुपमा लिएको उहाँले शुभकामनमा उल्लेख गर्नुभएको छ ।  व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता रहेको उल्लेख गर्नुभयो ।

युगान्तकारी परिर्वतनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको उहाँको दाबी छ । जनतालाई केन्द्रविन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ उहाँले उल्लेख गर्नुभएको छ ।