• ३ असार २०८१, सोमबार

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बिओपी स्थापना

blog

सशस्त्र प्रहरी बल नेपालले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा स्थापना गरेको बोर्डर आउट पोष्ट (बिओपी) । तस्बिर : सशस्त्र प्रहरी

गोरखा, जेठ १४ गते । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।

यससँगै चीनतर्फ बिओपीको सङ्ख्या १० वटा पुगेको सशस्त्रका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करिब १६४ किलोमिटर उत्तरतर्फ रहेको छ ।

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरू जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरूको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत कार्यहरू गर्नेछ । समुन्द्री सतहबाट करिब तीन हजार ८७५ मिटरको उचाइ स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुईला नाका रहेको छ ।  

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोलासहित नौ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । हाल भारततर्फ दुई सय ४४ र चीनतर्फ १० गरी बिओपीको सङ्ख्या दुई सय ५४ वटा पुगेको छ ।