• ३ असार २०८१, सोमबार

पढाइ कम्प्युटर पेसा ड्र्यागन खेती

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, जेठ १४ गते । सप्तरीको रूपनी गाउँपालिका–४, लक्ष्मीपुरकी सुषमा यादवको पढाइ कम्प्युटर विज्ञान हो । उहाँले पढ्नुभएको विषयमा सजिलै सरकारी, अर्धसरकारीमा जागिर पाउन सक्नुहुन्थ्यो तर उहाँको रोजाइमा जागिर परेन, उहाँ व्यावसायिक कृषिकर्ममा लाग्नुभएको छ । 

आफ्नै घरअगाडिको करिब १० कट्ठा खेतमा सुषमाले व्यावसायिक ड्र्यागन खेती गरेर सो क्षेत्रका अन्य महिलाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँ १० कट्ठा खेतमध्ये छ कट्ठा भाडामा लिएको बताउनुहुन्छ । २०७८ फागुनदेखि सुरु गर्नुभएको खेतीबाट प्रतिकट्ठा वार्षिक एक लाख रुपियाँभन्दा बढी आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो खेतीबाट खर्च काटेर वार्षिक स/आठ लाख रुपियाँ आम्दानी हुन्छ ।”

पतिपत्नीको सोच र सव्रिmयतामा २०७७/७८ सालतिर आरबी कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा सुरु गरेको ड्र्यागन फ्रुट खेतीमा १४/१५ लाख रुपियाँ लगानी गरिसकेको सुषमाले बताउनुभयो । 

एक पटकको लगानी, बिस वर्ष आम्दानी

एक पटक बिरुवा लगाइसकेपछि २० वर्षसम्म फल लिन सकिने उहाँको भनाइ छ ।  एक पटक बिरुवा रोपेपछि त्यो परिपक्व हुन दुई वर्ष लाग्ने र परिपक्व बिरुवालाई मलजल, गोडमेल भइरहेमा प्रतिकट्ठा वार्षिक एक लाख रुपियाँभन्दा बढी आम्दानी लिन सकिने उहाँको भनाइ छ । 

उहाँले खेती सुरु गर्नुभएको अहिले साढे दुई वर्ष मात्र भएको छ । यसको उत्पादनको मुख्य समय भने वैशाखदेखि कात्तिकसम्म अर्थात् सात महिना हुन्छ । गत वर्षदेखि उत्पादन सुरु भएको छ । अहिलेसम्म २० क्विन्टल फल उहाँले बिक्री गरिसकेको बताउनुहुन्छ । खुद्रामा चार सय प्रतिकिलो र थोकमा ३५० रुपियाँमा घरमै खरिद गर्न व्यापारी आउने गरेकाले बजार व्यवस्थापनको कुनै समस्या नरहेको सुषमा बताउनुहुन्छ । 

युट्युबले बनायो किसान

सुषमाले युट्युबमा ड्र्यागन फलको खेती गरेको भिडियो हेरेपछि त्यसैबाट प्रभावित भएको बताउनुहुन्छ । सुनसरीको तरहरास्थित कृषि फार्ममा गएर यसको खेतीबारे जानकारी लिएपछि भारतको हैदराबादबाट बाहिरभित्र रातो जातको दुई हजार र नेपालको तरहराबाट दुई/तीन सय बेर्ना (बिरुवा) ल्याएर रोप्नुभएको हो । उहाँले रोपेको बिरुवाले एक/डेढ वर्षमै फल दिन सुरु गर्छ । सुषमाले फलसँगै बिरुवा (बेर्ना) पनि बिक्री गर्न थाल्नुभएको छ ।  सरकारले कृषकलाई अनुदानको व्यवस्था पनि गरेको छ तर बिचौलियबिना अनुदान पाउन निकै गाह्रो हुने गरेको सुषमाको अनुभव छ । उहाँले यो खेतीका लागि गत वर्ष मात्र कृषि ज्ञान केन्द्र सप्तरीले दुई लाख अनुदान रकम र ५० प्रतिशतमा अनुदानमा पावर ट्याक्टर एक थान प्राप्त भएको बताउनुभयो ।

अन्तरबालीबाट पनि आम्दानी

करिब पाँच फिट उचाइको कङ्व्रिmट पोलमाथि मोटरसाइकलको टायर वा कङ्व्रिmटको रिङमा ड्र्यागन फलको बिरुवा लत्रिएर फल दिने गर्दछ । एक पोलदेखि अर्को पोल आठ फिट र एक लाइनदेखि अर्को लाइनको दुरी १०÷१२ फिटमा रोपिने गरेकाले तलको जमिनमा हल्दी, लसुन, प्याज, सागलगायत विभिन्न तरकारी खेतीले थप आम्दानी दिने गरेको सुषमाले बताउनुभयो ।