• ३ असार २०८१, सोमबार

रारामा दस हजारभन्दा बढी पर्यटक

blog

हरिकृष्ण ऐडी

मुगु, जेठ १३ गते । मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र १९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार ५७९ पर्यटकले रारा भ्रमण गरेका हुन्। 

गत वर्षको आर्थिक वर्षमा ११ हजार १९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो ।

 गत वर्षको तुलना भन्दा यो आर्थिक वर्षमा पर्यटक बढ्दै गएको उहाँले जनाउनुभयो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट सङ्कलन भएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरी निकुञ्जले ३० लाख ६३ हजार ७९१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । राजस्वमध्ये २५ लाख ३० हजार पर्यटकबाट र बाँकी पाँच लाख ३३ हजार ७८१ दण्ड, जरिबाना, काठ दाउरालगायतबाट सङ्कलन भएको जानकारी सूचना अधिकारी धितालले दिनुभयो । 

रारा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्देशिका अनुसार रारा भ्रमणमा आउने आन्तरिक पर्यटकले रारामा प्रवेश गरेबापत प्रतिव्यक्ति एक सय रुपियाँ, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र त्यसै गरी सार्क मुलुकबाहिरका पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले कार्यालयले प्रवेश शुल्क लिने गरेको छ ।

 यस्तै डुङ्गा चढ्ने प्रतिव्यक्ति पाँच सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०–४० प्रतिशतका दरले डुङ्गा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभयो । चैत, वैशाख, असोज र कात्तिक महिनामा रारा अवलोकनका लागि उत्तम मानिन्छ ।